कोरोनाबाट निको भएका मानिसमा देखिन सक्छन् यस्ता समस्या



काठमाडौं । कोरोनाको कहर जारी छ । नेपाल भारत जस्ता देशमा कोरोनाको दोस्रो लहर उच्च अवस्थामा पुगेको छ । स्वास्थ्यमा सावधानी, तथा अन्य सहयोगका कारण कोरोनाबाट जोगिन सकिन्छ । तर, कोरोना संक्रमण भएपनि पनि अनेकन खालका स्वास्थ्य समस्या तथा जोखिमको अवस्था देखिएको छ ।

संसारभर नै भएका अनेकन शोध तथा अनुसन्धानबाट कोरोना लागेका मानिसमा फरक फरक खालका स्वास्थ्य जोखिम देखा परेको बताएका छन् ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका क्रममा संक्रमणबाट मुक्त भएका व्यक्तिमा विभिन्न स्वास्थ्य समस्या लिएर अस्पतालमा पुग्ने गरेको चिकित्सकले उल्लेख गरेका छन् ।

विशेष गरी त्यस्ता मानिसमा शारीरिक ताथ मानसिक समस्या समेत देखा परेको छ । कोरोनाको उपचारपछिको स्वास्थ्य अवस्थाका बारेमा खोज गरिरहेका चिकित्सकहरूका अनुसार कोभिडपछि देखा पर्ने स्वास्थ्य समस्या (अक्यूट कोभिड–१९ सिन्ड्रोम)बारे पनि मानिसहरुमा अनेकन चिन्ता रहेको छ । यस्तै, स्वास्थ्य समस्याका बारेमा पनि सामाजिक सञ्जालमा अनेकन तथ्यविहीन समस्याका बारेमा प्रचार प्रसार गरिएको छ ।

उनीहरूका भनाइमा कोभिडपछि देखापर्ने केही सामान्य लक्ष्णमा बिरामी आत्तिनुपर्ने हुँदैन भने केही गम्भीर समस्या देखिएमा तुरुन्तै चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ ।

शोधकर्ताहरुका अनुसार ९० प्रतिशत बिरामीमा पोस्ट–कोभिडकै लक्षण देखिएको छ । कोरोनाको दोस्रो लहरको उच्च बिन्दुमा पुगेर बिस्तारै संक्रमण कम हुन शुरु भएको बेला विशेष खालका मानसिक समस्या पनि देखा परेको छ । सामान्यतया कोभिड निको भएपछि पनि बिरामीमा केही लक्षण केही दिनसम्म रहने भएकाले नआत्तिन चिकित्सकले आग्रह गर्ने गरेका छन्।

विशेष गरी मानिसहरुमा छाती दुख्ने, असजिलो महसुस हुने, भर्याङ चढ्दा स्याँस्याँ हुने, निद्रा नलाग्ने, आलस्य हुने, मांसपेशी दुख्ने जस्ता समस्या बढी देखिएको छ । कोरोना लागेका मानिसमा कोभिडपछि पनि खोकी लागिरहने, छाती दुख्ने, थकान महसुस हुने, डर र चिन्ता लाग्ने, मुटुसम्बन्धी समस्यालगायतका लक्षण देखा पर्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

यी र यस्ता खालका समस्या कोरोनापछि केही महिनासम्म देखिनु सामान्य नै भएको शोधकर्ताको भनाइ छ । उनीहरुका अनुसार एक्कासि छाती धेरै दुख्न थाल्यो, खोकी लागेको लाग्यै गर्यो र ज्वरो आयो भने अस्पताल जानुपर्छ । घरमा नै बसेर मलाई ठीक भइहाल्छ भन्ने मान्यता राख्नुहुन्न ।

त्यस्तै, कतिपय मानिसमा शरीरका कुनै भाग नचल्ने जस्ता समस्या पनि देखिनसक्छ । तर सामान्य खोकी वा कहिलेकहीँ हल्का छाती दुख्ने तथा थकानलगायका कुरामा भने आराम गरेमात्रै हुन्छ ।

यस्तै, केहीमा भने कोभिड निको भएपछि शारीरिक रूपमा खासै केही नभए पनि मानसिक समस्या बढी पाइएको छ । त्यसमा डर लाग्ने, चिन्ता हुने र निद्रा नलाग्ने बढी समस्या देखिएको छ ।


क्लिकमान्डु