कोरोनाले रोक्यो पाँचतारे बनाउने लक्ष्यले शुरु भएको ‘बुढानिलकण्ठ हेरिटेज होटल’ निर्माणको काम



काठमाडौं । निर्माण शुरु भएको २ वर्षमा सञ्चालन गर्ने योजनाअनुसार शुरु भएको बुढानिलकण्ठ हेरिटेज होटल निर्माणको गति यतिबेला ठप्प छ ।

कोरोना महामारीका कारण गतवर्ष पहिलो चरण र यो वर्ष दास्रो चरणमा लागू भएको लकडाउनका कारण होटल निर्माणको गति रोकिएको हो ।

होटलको बाहिरी संरचनाको निर्माणकार्य सकेर इन्टेरियर डिजाइनको काम शुरु हुँदा दोस्रो चरणको लकडाउन लागू भएपछि सबै काम यथास्थितिमै रहेको होटलका अध्यक्ष डा. राजेन्द्र केसीले बताए ।

केसीका अनुसार लकडाउनका कारण होटल सञ्चालन हुने समय सीमा र लागत दुबै बढेको छ ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेसँगै निर्माण कार्यमासमेत आंशिक रोक लगाएको छ । निर्माण गर्नैपर्ने भए श्रमिकलाई आवासीय सुविधासहित काममा लगाउनुपर्ने निर्देशन दिइसकेको छ । यस्तो अवस्थामा निर्माण कार्य सहज नहुने भन्दै होटल निर्माणको काम रोकिएको हो ।

‘खासगरी बैंकको ब्याजदरका कारण लागत बढ्ने देखिएको छ भने होटल सञ्चालन हुने निर्धारित समय पनि पर धकलिने निश्चित भएको छ,’ केसीले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार १५ प्रतिशतदेखि २० प्रतिशतसम्म होटलको लागत बढेको छ । बुढानिलकण्ठमा १२ रोपनी क्षेत्रफल जग्गामा फैलिएको होटल निर्माणको काम ३ वर्षअघि शुरु भएको हो ।

‘तीन वर्षअघि जग्गा खरिद गर्नेदेखि डिजाइनको काम शुरु गरिएको हो, निर्धारित समयमा सक्नका लागि कोरोना बाधक बन्यो,’ उनले थपे ।

महाराजगञ्जस्थित नारायणगोपाल चोकदेखि साढे ४ किलोमिटर दूरीमा रहेको उक्त निर्माणाधिन होटलमा १०० वटा रुम हुनेछन् जसमा डिलक्स रुपमदेखि प्रेसिडेन्सियल स्वीटसम्मका रुप हुनेछन् । साथमा स्वीमिङ पुल, हेल्थ क्वब, क्यासिनो पनि निर्माण हुनेछ ।

पाँचतारे होटल बनाउने लक्ष्यसहित शुरु गरिएको होटलको निर्माण अब कहिले पूरा हुन्छ भन्नेमा यकिन नभएको उनले बताए ।

‘हामीले सन् २०२१ को शुरुवातमै होटल सञ्चालन गर्ने गरी योजना बनाएका थियौं, तर त्यो कोरोनाका कारण हुन सकेन, अब आगामी वर्षदेखि सञ्चालन हुन्छ कि भन्नेमा आशावादी छौं,’ केसीले भने ।

१ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको होटल निर्माणका लागि सञ्चालकहरुले ६० करोड रुपैयाँ र बैंकबाट ९० करोड ऋण लिइएको छ ।

महामारीका कारण लागत बढ्दै जाँदा केसीले सरकारसमक्ष निषेधाज्ञा अवधिभरको ब्याज मिनाहाको माग समेत गरे ।

‘होटल निर्माण व्यक्तिगत व्यवसाय भन्दा पनि पर्यटन क्षेत्रका लागि राम्रो पूर्वाधार हो, त्यसैले सरकारले पनि यस्ता पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी छ । अहिले हामीलाई ब्याजदरको बोझ निरन्तर थपिएकाले सरकारले यसमा छुटको व्यवस्था गर्दा राम्रो हुन्छ,’ उनले भने ।

केसीका अनुसार होटल निर्माण भएपछि काठमाडौंबाट विभिन्न कार्यक्रमका लागि नगरकोट तथा धुलिखेल जाने मानिसहरुका लागि उपयुक्त विकल्प बन्नेछ । उनका अनुसार होटल नजिकै नारायण थानको मन्दिरसँगै गुम्बा, बागद्वार पनि पर्ने भएको सबै धर्मालम्बीका लागि पनि उपयुक्त गन्तव्य हुनेछ ।

त्यसका साथै उपत्यका नजिकै एक दिने ट्रेकिङका लागि पनि उपयुक्त गन्तव्य हुन सक्ने उनको भनाइ छ ।

‘होटलले दिने सुविधा त छँदैछ त्यसबाहेक पनि प्राकृतिक मनोरम दृश्यका साथै घुमफिरका लागि पाहुनालाई उपयुक्त गन्तव्य बन्न सक्छ,’ उनले भने ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक होटल पनि हो । जानकारहरुका अनुसार कोरोना महामारी अझै केही वर्ष रहने भएकाले नेपालमा विदेशी पर्यटक आउन त्यति सहज नहुने भएकाले होटल क्षेत्र अझै २ वर्षसम्म रिभाइभ हुने अवस्थामा छैन ।

यस्तो अवस्थामा ठूलो लगानीमा होटल निर्माण शुरु गरेका केसीलाई भने कोरोना महामारीको अवस्था सामान्य भएपछि विदेशी पर्यटक आउनेमा आशावादी छन् ।

‘घुम्ने इच्छाशक्ति भएका मानिसहरु लकडाउनका कारण घरभित्रै बस्न बाध्य छन्, यो समस्या नेपालमा मात्रै होइन, संसारका हरेक देशमा छ । तर पर्यटक नै नआउने भन्ने हुँदैन । अवस्था सामान्य हुँदा विदेशी पर्यटक नेपाल आउँछन्,’ उनले भने ।

अहिले होटल निर्माणका लागि केसीले नेतृत्व लिए पनि २७ जनाको लगानी छ । जसमा अम्बिका पौडेल, दीपक पाण्डे, जलेश्वर पाण्डे, बाबुकाजी कार्की, नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, जनक भाटलगयतका व्यवसायीहरुको लगानी रहेको केसीले जानकारी दिए ।

होटल निर्माण भई सञ्चालनमा आएपछि करिब २ सय जनाले रोजगारी पाउनेछन् । 


कमलकुमार बस्नेत