सिटिजन्स बैंकका ग्राहकले घर मै बसेर २ लाखसम्मको कर्जा पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एफ वान सफ्ट इन्टरनेशनलसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पे डे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

बिहीबार बैंकको मुख्य कार्यालय भवनमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्युटरमा क्लिक गरी ‘पे डे लोन’ योजना सार्वजनिक गरे ।

बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म मोबाइल बैकिङबाट ‘पे डे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

साथै कर्जाका लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ‘पे डे लोन’ सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पे डे लोन’ योजना संचालनमा ल्याएको हो ।


क्लिकमान्डु