५ अर्बभन्दा बढी लागतका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बनाउँदै सरकार



काठमाडौं । सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयनका लागि छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ ।

अर्थसचिव शिशिर कुमार ढुंगानाले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाको कार्यान्वयन गर्नका लागि छुट्टै खालको नीति र प्रशासनिक संरचना बनाउन लागिएको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र उद्योग संगठन मोरङले संयुक्त रुपमा बिहीबार भर्चुअल रुपमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको बजेट र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थसचिव ढुंगानाले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र रणनीतिक आयोजनाहरुसमेत गरी ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजनाका लागि छुट्टै मेकानिजम बनाउने तयारी भइरहेको छ,’ ढुंगानाले भने, ‘हामीले ठूला आयोजना कार्यान्वयनका लागि नीतिगत सुधार र परिवर्तन गर्न खोजेका छौं । त्यसकारण यो संयन्त्र चाँडै नै कार्यान्वयनमा आउँछ ।’

त्यस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रकृया शुरु भइसकेको पनि ढुंगानाले बताए ।

‘बजेट कार्यान्वयनका लागि प्रक्रिया शुरु भइसकेको छ । योजना कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत गरिरहनुपर्ने अवस्था छैन । अर्थमन्त्रालयको स्वीकृतीमा सम्बन्धित मन्त्रालयले नै कार्यविधि स्वीकृत गर्छ,’ उनले भने, ‘नयाँ योजना कार्यान्वयनका लागि तत्काल टेण्डरका प्रक्रिया शुरु गर्न खोजिरहेका छौं, साउन कुर्दैनौं ।’


क्लिकमान्डु