निषेधाज्ञामा यसरी तिरौँ घरबाटै इसेवा मार्फत कर तथा राजस्व



काठमाडौं । कोभिड-१९ को दोस्रो चरणको लहर चलेसँगै अहिले पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञा भएपनि कतिपय सेवा सञ्चालन नै छन् ।

सेवा सञ्चालन भएका र कर तिर्न सक्नेले निषेधाज्ञाको अवधिमा पनि कर तिर्नुपर्ने हुन्छ । अझ अहिले त आर्थिक वर्षको अन्त्यतिर भएकाले पनि यसअघि बक्यौता रहेको रकम पनि तिर्नुपर्ने हुन्छ ।

एकातिर निषेधाज्ञा छ अर्कोतिर कर तिर्नुपर्ने बाध्यता पनि छ । यही समयमा कर कार्यालय बन्द छन् । कर कार्यालय खुलेपनि निषेधाज्ञाको समयमा कर कार्यालयसम्म जान समस्या छ । कर कार्यालयमा जाँदा कोरोना सर्ने अर्को जोखिम छ । यस्तो अवस्थामा घरमै बसेर इसेवामार्फत् सहजै कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

गएको पुस महिनादेखि करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व ई-सेवाबाट नै भुक्तानी अथवा दाखिला गर्न सक्ने सेवाको शुरुवात भएको थियो । इसेवा अकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन् ।

इसेवा एकाउन्ट नभएका व्यक्तिले पनि नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ । यो सुविधाबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिलेको छ भने कोभिडको जोखिम पनि हुँदैन ।

हाल इसेवाको माध्यमबाट कर बुझाउनेको संख्या ह्वात्तै बढेको छ । वैशाखमा निषेधाज्ञाका माझ अनलाइनबाट कर बुझाउनेको संख्या बढेको इसेवाको भनाइ छ ।

कम्पनीका अनुसार वैशाखमा इसेवामार्फत कर बुझाउनेको संख्या नियमितभन्दा २५ प्रतिशत बढी थियो । जुन जेठ महिनामा अझ बढेको कम्पनीको भनाइ छ ।

ल्यान्डलाइन फोनको बिल, बिजुलीको बिल, खानेपानीको बिल, जहाजको टिकट, खेलकुद प्रतियोगिताको टिकट, पेट्रोल पम्पदेखि विद्यालयको शूल्क पनि अनलाइन माध्यमबाटै तिर्न सकिने सुविधा दिएको इसेवाले पछिल्लो समय सरकारी निकायलाई गर्नुपर्ने भुक्तानीलाई पनि अनलाइन मार्फत सेवा दिएको छ ।

इसेवामार्फत् कसरी बुझाउने कर ?
आन्तरिक राजस्व कार्यालयको करदाता पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी अघि बढ्नुपर्छ र त्यसपछि पेमेन्ट भौचरमा क्लिक गर्नुपर्छ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेस्ट बैंक वा राष्ट्रिय वाणिज्य बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्छ ।

सो काम गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्छ । उक्त ट्रान्जेक्सन कोड टिपेपछि ई-सेवामा क्लिक गरी ई-सेवाको वेबसाइट खोल्नुपर्छ ।

त्यसपछि गभर्मेन्ट पेमेन्टमा रहेको इन्ल्यान्ड रेभिन्यु डिपार्टमेन्टमा क्लिक गर्नुपर्छ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिन्छ ।

आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको देखिन्छ ।


क्लिकमान्डु