नेपालबाट निर्यात हुने भटमासको तेल आपूर्तिमा प्रतिबन्ध लगाउने तयारीमा भारत



काठमाडौं । नेपालबाट भारतमा निर्यात हुने भटमासको तेल (सोयाबिन आयल) आपूर्तिमा प्रतिबन्ध लगाउन भारतको केन्द्रीय सरकारलाई चर्को दबाब परेको छ ।

इकोनोमिक टाइम्सका अनुसार भारतमा वनस्पति घ्यू उत्पादन गर्दै आएका उद्योगी व्यवसायीहरुको छाता संगठन ‘सोलभन्ट एक्सट्रेटर्स एसोसिएसन’ले केन्द्रीय सरकारलाई पत्र पठाउँदै नेपालबाट भारत निर्यात हुने भटमासको तेल रोक्न भनेको हो ।

भारत केन्द्र सरकार निकै दबाबमा आएपछि उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएको पनि इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

नेपालले भारततर्फ निर्यात गर्ने भटमासको तेलको उत्पत्तिको प्रमाणपत्र (रुट अफ ओरिजिन) हेर्न पनि व्यवसायीहरुले पत्रमार्फत् भारत सरकारसँग आग्रह गरेका छन । नेपालबाट निर्यात हुने तेलका कारण भारतको घरेलु उत्पादन र किसानहरुलाई मारमा पारेको उनीहरुको निष्कर्ष छ ।

नेपालले तेस्रो मुलुकबाट भटमास आयात गर्ने र नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्छ । नेपालबाट भटमासको तेल भारत निकासी गर्दा भारतले शून्य भन्सार र निकै न्यून दरको अन्तःशूल्क लगाउँछ । जसकारण भटमासको तेल भारतीय बजारमा सजिलै पुगिरहेको छ । भारतमा भटमास तेलको आयात नेपालबाट मात्र नभई बंगलादेशबाट पनि हुने गरेको छ ।

अहिले खाना पकाउने तेलको मूल्य निकै बढेको छ भने भारतका खाद्य तेल उद्योगहरुले नेपालबाट सोयाबिनको अवैध आयात रोकिनुपर्ने विषय जोडतोडले उठाउन थालिसकेका छन् ।

पूर्वी र उत्तरी भारतमा वनस्पति घ्यू उत्पादन गर्ने उद्योगहरुको अस्तित्व नै संकटमा परेको तथा भारत सरकारलाई ठूलो राजस्व घाटा पनि भइरहेकाले नेपालबाट हुने निर्यातमा रोक लगाउनुपर्ने माग सहित पत्र पठाइएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

सार्कका ५ वटा अल्पविकसित मुलुकहरुले भारतमा केही खाद्य वस्तु निर्यात गर्नका लागि सन २०११ देखि भन्सार महसुलमा पूर्णरुपमा छुट पाइरहेका छन् । त्यसैको फाइदा लिँदै नेपालले विदेशबाट आयात गरेको सोयाबिन प्रशोधन गरी भारतीय बजारमा कब्जा जनाउन थालेको त्यहाँको व्ययसायीहरुको भनाइ छ ।

यसअघि नेपालबाट ठूलो मात्रामा पाम आयल भारत निर्यात हुने गरेकोमा भारत सरकारले गत वर्ष पुस २३ गते त्यसमा प्रतिबन्ध लगाएको थियो । अहिले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा पर्दछ ।


क्लिकमान्डु