अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थ महंगो हुँदा खानेतेलको मूल्य बढ्योः संघ
काठमाडौं । नेपाल वनस्पति घ्यू उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वभाविक रुपमा वृद्धि भएकाले खाने तेलको मूल्य बढेको बताएको छ ।
संघले आज जारी गरेको विज्ञप्तिमा कोरोना महामारीका कारण मूल्यवृद्धि भएको र त्यसको असर नेपालको बजारमा भएको बताए ।
प्रशोधित खानेतेलमा भएको मुल्यवृद्धिका विषयमा श्री वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक भएको सोधनी भएको समेत संघको भनाइ छ ।
संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल इत्यादी उत्पादन गरी स्थानीय बजारमा साथै निकाशी समेत भइरहेको संघको भनाइ छ ।
उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने संघको भनाइ छ ।
बिगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको महामारी तथा अन्य जियो पोलिटिकल इस्युहरुले गर्दा खाने तेलको मूल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको संघको भनाइ छ ।
‘खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकाले एक वर्षमा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैयाँ प्रति लिटर रहेकोमा हाल सरदर ४० रुपैयाँभन्दा बढी पुगिसकेको छ । हालसम्म पनि चलन चल्तिको अन्तर्राष्ट्रिय मूल्यअनुसारको नेपालको मूल्य अझै परिमार्जित हुन सकेको छैन,’ संघले भनेको छ ।
संघले सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना गरी मूल्यवृद्धि नभएको, हालको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनँहु भइरहेको मूल्यवृद्धिको कारणले भएको दावी गरेको छ ।