विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्नुपर्ने राष्ट्र बैंकको सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने सुझाव दिएको छ ।

नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययनले नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिएको जनाएको छ ।

आर्थिक पाटोलाई विश्लेषण गर्दा सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएको तथा उद्योग वरिपरि जग्गाको मूल्यको बढेको कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरु परेको भएतापनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको छ । अतः सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुपर्ने जनाएको छ ।

साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदिमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको देखिने सुझाव दिएको छ ।

नेपालमा ५५ वटा सिमेन्ट उद्योग संचालन रहेका छन् । जसको उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेको छ । आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । १५ लाख ६० हजार मेट्रिक टन आयात भएको देखिन्छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको देखिएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून छ । मुलुकभित्रैसिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।
अहिले विदेशी लगानीका ३ वटा सिमेन्ट संचालनमा छन् ।

होङ्सी सिमेन्ट,अर्घाखाँची सिमेन्ट र मारुती सिमेन्टमा विदेशी लगानी रहेको छ । हुवासिन सिमेन्ट भने संचालनमा आउने क्रममा रहेको छ । जसमा सबैभन्दा ठूलो लगानी ३६ अर्ब ७६ करोड होङ्सी सिमेन्टमा छ । जसमा ७० प्रतिशत चिनियाँ लगानी छ । ३० प्रतिशत नेपाली लगानीकर्ताको छ । होङ्सीमा चीन(हङकङ)बाट ९ अर्ब ८३ करोड लगानी आएको थियो नेपाली लगानीकर्ताले ४ अर्ब २१ करोड लगानी गरेका थिए । एनएमबि बैंकका नेतृत्वमा ५ वटा बैंकले होङ्सीमा २२ अर्ब ७२ करोड रुपैयाँ कर्जा दिएका छन् ।


क्लिकमान्डु