ट्याक्सीमाण्डुका संस्थापक केसीले जिते ‘स्टार्टअप वर्ल्डकप नेपाल’को उपाधि



काठमाडौं । ‘स्टार्टअप वर्ल्डकप नेपाल २०२१’ को उपाधि ट्याक्सीमाण्डुका संस्थापक अर्जुन केसीले जितेका छन् ।

स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालको संयुक्त रुपमा आयोजना भएको यो प्रतिस्पर्धाको बुधबार अन्तिम नतिजा सार्वजनिक भएको हो ।

यो उपाधि जितेसँगै केसीले अमेरिकाको सान फ्रान्सिस्कोमा नोभेम्बर १२ मा हुने विश्वव्यापी प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

विश्वव्यापी प्रतिस्पर्धामार्फत् छानिने उत्कृष्ट नवप्रवर्तनले पुरस्कारका रुपमा १० लाख अमेरिकी डलर बराबरको लगानी जुटाउनेछ ।

‘स्टार्टअप वर्ल्डकप–२०२१’ मा विश्वका ६० वटा देश सहभागी छन् । यो कार्यक्रमको शुरुवात भने अमेरिकी कम्पनी स्पेस एक्सको भगिनी कम्पनी पिगासस टेक भेञ्चरले गरेको हो ।

यो प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय नवप्रवर्तनलाई विश्वमञ्चसम्म पुर्याएर लगानी जुटाउने तथा विभिन्न देशका लगानीकर्तासँग सम्बन्ध स्थापित गर्ने हो ।

स्टार्टअप हब नेपालका अनुसार यो प्रतियोगिताको उपाधिका लागि उत्कृष्ट १० वटा नवप्रवर्तन तथा सोचहरुबीच प्रतिस्पर्धा भएको थियो ।

उत्कृष्ट १० मा पुगेका नवप्रवर्तन हरुमा सुदर्शन केसीको कुल टर्मिनल इलेक्ट्रिक सिस्टम, शुभराज शर्माको स्याटेलाइट सिस्टम, विवेकमणी आचार्यको मल्टिपेमेन्ट गेटवे च्यानल, सौगात भारद्वाजको इमिटेसन इन्नोभेसन र प्रकाश उप्रेतीको पार्टटाइम जबसँग सम्बन्धित नवप्रवर्तन थिए ।

त्यस्तै, जितजंग लकान्द्रीको इ–लिंक डिस्प्ले, सुरज प्रसाद पोखरेलको बायो चिप्स, अर्जुन केसीको सप्लाई चेन म्यानेजमेन्ट सिस्टोम, यसिर फिरोज र अभियान खनालको भर्चुअल बिजनेस कार्ड तथा अनिल पोखरेलको ल्याब रिजेन्टसँग सम्बन्धित नवप्रवद्र्धन पनि प्रतिस्पर्धामा थिए ।


क्लिकमान्डु