प्रभु सेलेक्ट फण्ड किन्नेले ३ गुणा बढी प्रतिफल पाउँछन्ः प्रभु क्यापिटलका सीओओ कृष्ण गिरि



प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषका इकाइहरुको बिक्री खुल्ला गर्दैछ । क्यापिटलले पहिलोपटक १ अर्ब रुपैयाँको सामुहिक लगानी कोष ल्याउन लागेको हो । यो कोष किन्नुको औचित्यता र लगानी गर्नेहरुले कस्तो प्रतिफल पाउँछन् ? लगायतका विषयमा केन्द्रित रहेर प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरिसँग क्लिकमाण्डूले गरेको संक्षिप्त कुराकानीः

प्रभु सेलेक्ट फण्ड कस्तो खाले फण्ड हो ?

प्रभु क्यापिटलले पहिलोपटक जेठ ५ गतेदेखि सामुहिक लगानी कोषको बिक्री खुल्ला गर्दैछ । यो बन्दमुखी योजना हो । जसको आकार १ अर्ब रुपैयाँको छ । १ अर्ब रुपैयाँमा प्रभु बैंक र प्रभु क्यापिटलले १५ करोड रुपैयाँ लगानी गर्ने छन् भने सर्वसाधारणले ८५ करोड रुपैयाँसम्म लगानी गर्न पाउने छन् । यसका लागि न्यूनतम १ हजार रुपैयाँ अर्थात् १०० युनिट किन्नुपर्ने हुन्छ ।

लगानीकर्ताले के आधारमा लगानी गर्ने ?

हामीसँग लगानीका विभिन्न औजारहरु छन् । प्रतिफल पाउनका लागि सामुहिक लगानी कोष आवश्यक छ । हामीसँग विज्ञ लगानीकर्ताको समुह छ, जुन लगानीकर्तासँग बजारको उत्तारचढावको राम्रो जानकारी हुँदैन त्यस्ता लगानीकर्तालाई यसले फाइदा हुन्छ ।

यसबाहेक दोस्रो बजारका जानकार लगानीकर्तालाई पनि लगानीलाई विविधिकरण गर्नका लागि प्रभु सेलेक्ट फण्ड उपयोगी हुन्छ । प्रभु क्यापिटलभित्र सेयर बजारमा लगानी गर्नका लाछि छुट्टै टिम छ । जोसँग अनुभव तथा ज्ञान छ । हामी त्यही अनुभव तथा ज्ञानलाई प्रयोग गरेर कोषबाट बढी प्रतिफल लगानीकर्तालाई दिने छौं ।

कोष खरिद गर्ने लगानीकर्ताले कस्तो प्रतिफल पाउँछन् ?

हाम्रो प्रक्षेपणअनुसार वार्षिक २० प्रतिशतसम्म प्रतिफल दिनसक्छौं । ७ वर्षको अवधीमा लगानीकर्ताले आफ्नो लगानीको ३ गुणासम्म प्रतिफल पाउँछन् । अहिलेसम्म हामीले लगानीकर्ताको राम्रो प्रतिक्रिया पाएका छौं । सानोदेखि ठूला लगानीकर्ता सबैको प्रतिक्रिया राम्रो छ ।

वार्षिक २० प्रतिशत प्रतिफल बुलिस मार्केटलाई मात्र हेरेर भन्नु भएको कि भोलिका दिनमा बियरिस हुँदा पनि त्यति नै प्रतिफल पाउन सकिन्छ ?

अहिले सेयर बजार सूचक ऐतिहासिक उच्च बिन्दुमा छ । यद्यपि कतिपय कम्पनीको मूल्य बढेको छैन । केही कम्पनीको बजार पूँजीकरण धेरै छ । सेयर बजारमा घट्ने र बढ्ने स्वभाविक प्रक्रिया हो । हामीले भोलिका दिनमा बियरिस हुन्छ भन्ने आधारमा नै त्यो प्रतिफलको आँकलन गरेका छौं । हाम्रो पोर्टफोलियो भित्रका कम्पनीबाट हामीले सेयरधनीलाई राम्रो प्रतिफल दिएका छौं । उत्तारचढाव भएपनि हामीले लगानी गरेका कम्पनीले दिने लाभांशको आधारमा भन्नुपर्दा २० प्रतिशतको प्रतिफल दिन सकिन्छ । ७ वर्षको दौरानमा प्रभु सेलेक्ट फण्डले अहिलेको बुल तथा तथा अर्को बुल पनि भेट्छ भन्ने लाग्छ ।

कोरोना भाइरस नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । यो बेलामा म्युचुअल फण्ड बिक्छ जस्तो लाग्छ ?

लगानीकर्ताले देखाएको विश्वास हेर्दा यो सजिलै बिक्छ भन्ने लाग्छ । लगानीकर्ताहरु मेरो सेयरमा विश्वस्त हुनुहुन्छ । मेरो सेयरमा अन्य आइपीओमा लगानी गरेजस्तो गरेर लगानी गर्न सकिन्छ । यसमा न्यूनतम १ हजारबाट लगानी गर्न सकिन्छ ।

लगानीकर्ताले चाहेको समयमा बेच्न सक्छन् ?

यो बन्दमुखी योजना हो । ७ वर्षमा लगानीकर्ताले लगानी सहित प्रतिफलसमेत फिर्ता पाउने छन् । यो कोष नेपाल स्टक एक्सचेन्जमा समेत सूचिकृत हुनेछ । त्यो हुँदा लगानीकर्ताले सेयर बेचेजस्तो गरेर चाहेको बेला बिक्री गरेर बाहिरिन सक्छन् ।


पुष्प दुलाल