व्यवसायी मल्होत्राले यसैसाता चीनबाट २२५० थान अक्सिजन सिलिण्डर ल्याउने



काठमाडौं । व्यवसायी दिपक मल्होत्राले चीनबाट २२५० थान अक्सिजनको सिलिण्डर ल्याउने भएका छन् । अक्सिजन र सिलिण्डरको अभावका कारण कोरोना महामारीबाट संक्रमितहरु मृत्युसम्म पुग्नु परिरहेको अवस्थामा उनले सिलिण्डर ल्याएर वितरण गर्न लागेका हुन् ।

‘शुक्रबारसम्मा चीनबाट २२५० थान अक्सिजन सिलिण्डर आइपुग्छ,’ मल्होत्राले क्लिकमाण्डूसँग भने, ‘यसरी ल्याइएको सिलिण्डर नेपाल चेम्बर अफ कमर्शमार्फत् सरकारी अस्पताललाई कम्तिमा ५०० थान निःशुल्क दिन्छौं ।’

मल्होत्राको डीएम फाउण्डेशनले उक्त सिलिण्डर ल्याउन लागेको हो । फाउण्डेशनले केही चेम्बरलाई निःशुल्क दिने र केही लागत खर्चमा किनेर सरकारी अस्पतालहरुलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने छ । मल्होत्रा चेम्बरका उपाध्यक्ष पनि हुन् ।

निजी अस्पतालहरुलाई भने शुल्क लिएर बिक्री गर्ने उनले जानकारी दिए ।

‘यो महामारीका समयमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन मैले चीननबाट सिलिण्डर मगाएको हुँ,’ मल्होत्राले भने, ‘अब सिलिण्डरको अभाव हुँदैन । अबको समस्या भनेको ग्यासको हो, त्यसमा पनि केही काम गर्ने सोचका साथ अघि बढिरहेको छु ।’

मल्होत्राले यसअघिदेखि नै महामारीको समयमा मास्क उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् ।


पुष्प दुलाल