बैंकर्स संघले भन्यो- सकेसम्म बैंक नआउनू, इमेल लेखेरै मुद्दति निक्षेपको नवीकरण
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकलाई सकेसम्म बैंक नआउन आग्रह गरेको छ । यसअघि नै अत्यावश्यक ५ वटा मात्रै सेवा दिने बताइसकेको संघले आइतबार फेरि प्रेस विज्ञप्ति जारी गर्दै सकेसम्म बैंक नआउन आग्रह गरेको हो ।
‘कोभिडको दोस्रो लहर बढेसंगै समस्त ग्राहकवर्गहरुमा बैंकिङ्ग कारोवार घरैबाट गर्नका निमित्त अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने व्यहोरा स्मरण गराउँदछौं ।’
साथै, सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर कोडमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघको अनुरोध छ ।
ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ ।
साथै, कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिनेछ ।
बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेवसाइडमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ ।