वैशाखको कर असुली ९५.३३ प्रतिशत, अन्तःशुल्क सवा १ अर्बले कम उठ्यो



काठमाडौं । कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ कर उठेको छ ।

आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल ३३ अर्ब ९९ करोड रुपैयाँ बराबरको राजश्व असुली लक्ष्य राखेको थियो । मासिक लक्ष्यको ९५.३३ प्रतिशत अर्थात ३२ अर्ब ४० करोड रुपैयाँ बराबर असुली भएको विभागले जनाएको छ ।

अन्तःशुल्कतर्फको कर असुली लक्ष्यभन्दा कम देखिएको छ भने आयकर र मूल्य अभिवृद्धि कर लक्ष्यभन्दा बढी देखिएको छ ।

वैशाख महिनामा संकलित कर राजस्वमध्ये अन्तःशुल्कतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा १० अर्ब ७४ करोड असुली भएको छ । यो रकम लक्ष्यभन्दा १ अर्ब २१ करोड रुपैयाँ अर्थात करिब १० प्रतिशतले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ भने करिब १०१ प्रतिशत राजस्व असुली भएको छ । वैशाख महिनाका लागि ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको भ्याट असुली लक्ष्य रहेकोमा ९ अर्ब ७३ करोड रुपैयाँ असुली भएको छ ।

त्यस्तै आयकरतर्फ ७ अर्ब २८ करोड रुपैयाँ बराबर लक्ष्य राखिएकोमा ७ अर्ब ४९ करोड रुपैयाँ बराबर असुली भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार निषेधाज्ञाका बाबजुद पनि कर असुली स्वभाविक अवस्थाको जस्तो देखिएको छ । करिब ९९ प्रतिशत कर दाखिला बैंकिङ प्रणाली र अनलाइनमार्फत हुनेगरेका कारण निषेधाज्ञाको असर धेरै नदेखिएको विभागको भनाइ छ ।

यद्यपी निजी क्षेत्रले भने कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिको कर तिर्ने समय थप गर्न र छुटका लागि सरकारसँग माग गरेको छ ।

निजी क्षेत्रका छाता संगठन र उद्योगी व्यवसायीहरुले व्यक्तिगत रुपमै पनि कर तिर्ने म्याद थपका लागि माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागमा धमाधम निवेदन दिइसकेका छन ।


क्लिकमान्डु