ग्रील तथा स्टिल व्यवसायीले फिर्ता गरे २ सय बढी अक्सिजन सिलिन्डर



काठमाडौं । देशमा कोरोना भाइरस महामारीको संक्रमण बढेर अक्सिजन अभाव भएपछि निजी क्षेत्रका उद्योगीहरूले अक्सिजन सिलिन्डर संकलन गरी फिर्ता गर्न थालेका छन् ।

देशभर हजारौंको संख्या रहेको ग्रील तथा स्टिल व्यवसायी महासंघले उद्योगमा रहेका अक्सिजन सिलिन्डर संकलन गरी फिर्ता गर्न थालेको हो ।

महासंघका अध्यक्ष मोहन कटुवालले देशभर छरिएर बसेका व्यवासायी तथा उद्योगहरूले हालसम्ममा २ सय बढी सिलिन्डर संकलन गरी सरकारलाई फिर्ता गरेको बताए ।

उद्योग मन्त्रालयले देशमा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि उद्योगीहरूलाई अक्सिजन फिर्ता गर्न निर्देशन दिएको छ । सोही अनुसार ग्रील उद्योगहरूले सरकारलाई सहयोग गरेको बताए ।

महासंघले पोखरा, हेटौंडा, भैरहवा, बुटवल, काठमाडौं, ललितपुर, सुरनसरी, मोेरङलगायत अन्य जिल्लामा रहेका व्यवसायीहरूसँग भएको २, ३ वटा सिलिन्डर संकलन गरी फिर्ता गरेको उनको भनाइ छ ।

‘केही उद्योगहरूले प्रोजेक्टको काम सक्नै पर्ने अवस्था भएपनि रोकेर फिर्ता गर्नुपर्ने बताएका छन,’ उनले भने, ‘ग्रील उद्योगहरूमा सिलिन्डर कम हुन्छ । तर भएका जति फिर्ता गर्न आह्वान गरेका छौं ।’
हाल देशभरका उद्योग बन्द अवस्थामा रहेका छन् । देशमा कोरोना भाइरस महामारीले आक्रन्त मच्चिएको बेला मानवियता भन्दा ठूलो अरु केही होइन भनेर उद्योग बन्द गरेर पनि सरकारले सहयोग गरेको उनको भनाइ छ ।

‘उद्योगी तथा व्यवसायीले सामाजिक उत्तरदायित्वको हिसाबले हाम्रो क्षेत्रबाट गर्न सक्ने भनेकै ग्रील उद्योगको काम रोक्ने हो । ग्रील उद्योग बन्द गरेर जति नोक्सान भएपनि मानिसको ज्यानभन्दा ठूलो केही होइन,’ उनले भने ।

त्यसैगरी, देशभर ११ हजार ग्रील उद्योग छन् भने १ लाख ६० हजार कर्मचारी रहेका छन् ।

विगतको दिनका पनि कोरोनाले निकै प्रभावित भएको यस क्षेत्रमा अहिले पनि अत्याधिक प्रभाव परेकाले यस क्षेत्रमा आबद्ध भएका उद्योगीहरूलाई कसरी टिकाउने भन्ने निकै चुनौती बनेको उनको भनाइ छ । यसले गर्दा आगामी दिनमा सरकारले साना भन्दा साना उद्योगीलाई पनि राहत प्रदान गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु