रेमिट्यान्स साढे १६ प्रतिशतले बढ्यो



काठमाडौं । कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स बढेको छ । नेपाललगायत भारतमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर उच्च भए पनि खाडी मुलुकमा कम भएकाले रेमिट्यान्स बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भई रु.७२९ अर्ब २ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु