महामारी विरुद्धको लडाईंमा सरकारलाई निजी क्षेत्रको साथ
काठमाडौं । कोभिड-१९ महामारीको पहिलो चरणको तुलनामा दोस्रो चरण निकै भयावह देखिएको छ । महामारी विरुद्धको लडाईंमा गतवर्षको तुलनामा सरकार निकै निरिह देखिएको छ भने विभिन्न निकायबाट हुने आर्थिक र स्वास्थ्य सामग्री, खाद्यान्नजस्ता अत्यावस्यक वस्तुको सहयोग पनि निकै घटेको छ ।
पहिलो चरणमा गतवर्ष तीनवटै तहका सरकार, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरु, दातृ निकाय, विभिन्न पेशा व्यवसायसँग सम्बन्धित छाता संगठनहरु र व्यक्तिगत रुपमा समेत कोभिड–१९ विरुद्धको लडाईंमा सहयोग जुटेको थियो ।
तीनवटै तहका सरकारलाई दाताहरुले कुनै न कुनै रुपमा सहयोग गरेका थिए । स्वास्थ्य संस्थाहरुले पनि सहयोग पाइरहेका थिए । तर महामारीको दोस्रो चरणले देश आक्रान्त भएका बेला सहयोग भने घटिरहेको छ ।
कसले कति सहयोग गरे ?
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले महामारीसँग जुध्नका लागि भन्दै ‘एफएनसीसीआई कोअपरेसन कोभिड रिलिफ नेपाल’ नामको अभियान चलाएको छ ।
उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रमको रुपमा महासंघले गत शुक्रबारबाट हेल्लो डाक्टर कार्यक्रम शुरु गरेको छ । यो कार्यक्रमको उद्देश्य कोभिड–१९ महामारीसँग सम्बन्धित समस्याहरुमा चिकित्सकहरुले स्वास्थ्य परामर्शदाताका रुपमा सेवा दिनेछन् ।
महासंघले गतगवर्ष सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा महासंघले ५९ लाख रुपैयाँ बराबरको नगद सहयोग र ९१ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीको घोषणा गरेको थियो ।
उद्योगी व्यवसायीहरुको अर्को संस्था नेपाल उद्योग परिसंघले सोमबार सरकारलाई करिब २ करोड रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।
परिसंंघले आफ्नो सदस्य संस्था होङ्शी शिवम् सिमेन्टमार्फत् ८ लिटर क्षमताका २ सय थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सले कोभिड १९ संक्रमित बिरामीहरुकै लागि लक्षित गरी एम्बुलेन्स सेवा चलाइरहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि तत्काल २ करोड रुपैयाँ बराबरको स्वस्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघको शुक्रबार बसेको आकस्मिक बैठकले कोरोना संक्रमित बिरामीका लागि १ सय वटा अक्सिजन सिलिन्डर सहयोग गर्ने पनि निर्णय गरेको हो ।
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले सशस्त्र प्रहरी अस्पताल सतुंगललाई कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
निजी क्षेत्रका छाता संगठनबाहेक व्यक्तिगत र संस्थागत पनि सहयोग जुटिरहेको छ ।
अहिले सरकारले बनाएको कोषलाई सहयोग गर्ने भन्दा पनि साझै स्वास्थ्य संस्थाहरुलाई आर्थिक र प्राविधिक सहयोग उपलब्ध भइरहेको छ ।
गतहप्तामात्र गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि १ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ ।
त्यस्तै, जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजका अध्यक्ष विजय कुमार शाहले कोभिड १९ संक्रमितको उपचारका लागि भन्दै १ करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग घोषणा गरेका छन् । उनले धुलिखेल अस्पतालको आइसियु र अक्सिजन आपूर्तिका लागि सहयोग गरेका हुन् ।
लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी लक्ष्मी हुण्डाईले ५० लाख रुपैयाँ बराबरको स्थास्थ्य सामग्री गण्डकी प्रदेश सरकारलाई दिएको जनाएको छ । कोरियाली कम्पनी हुन्डाई मोटर्सबाट आएको सहयोगलाई लक्ष्मी हुन्डाइले वितरण गरेको हो । गत वर्ष १ करोड रुपैयाँ बराबर सहयोग गरेको थियो ।
सरकारले स्थापना गरेको कोष किन निष्क्रिय ?
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउन भन्दै गतवर्ष संघ सरकारले मात्र नभई प्रदेश सरकार, जिल्ला समन्वय समिति र पालिकाहरुले समेत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष बनाएका थिए ।
अधिकांश सहयोग रकम तिनै कोषमार्फत् जाने गरेको थियो । तर ती कोषको प्रभावकारिता भने खासै देखिएन ।
संघ सरकारले स्थापना गरेको कोषमा २ अर्ब ७७ करोड रुपैयाँ बराबर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणमा उल्लेख छ । उक्त कोषमा गतवर्ष असोज पछि जम्मा भएको रकम भने राखिएको छैन । प्रदेश, जिल्ला र स्थानीय तहले समय ती कोषहरु अहिले निष्क्रिय राखेका छन् ।