निक्षेपमा कल डिपोजिटको हिस्सा घट्यो, बढी हुनेले घटाउदा कम हुनेले बढाए



काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थासँगै वाणिज्य बैंकहरुमा कल डिपोजिटको हिस्सा निकै घटेको छ ।

कुनै बेला औसतमा २० प्रतिशतसम्म रहेको कल डिपोजिटको हिस्सा अहिले ७.९४ प्रतिशतमा झरेको छ । अहिले वाणिज्य बैंकसँग ३९ खर्ब ४५ अर्ब निक्षेप रहेको छ । कल डिपोजिट अन्तर्गत वाणिज्य बैंकसँग अहिले ३ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले कुल निक्षेपमा १० प्रतिशतभन्दा बढी कल डिपोजिट हुन नहुँने व्यवस्था गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक सबै बैंकको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा १० प्रतिशतभन्दा कम छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको कुल निक्षेप १ खर्ब ६७ अर्ब रुपैयाँ छ । कल डिपोजिट १९ अर्ब ६७ अर्ब रहेको छ । यो भनेको ११.७३ प्रतिशत हो ।

कल डिपोजिट बढी हुने बैंकहरुमा दोस्रोमा एभरेष्ट बैंक रहेको छ । जसको ९.५८ प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको ९.५३ प्रतिशत रहेको छ । सिटिजन्स बैंकको ९.५० प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले २०७५ सालको मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत कुल निक्षेपमा कल डिपोजिटको सिमा १० प्रतिशत तोकेको थियो ।

कल डिपोजिटले बिकृति ल्याएको भन्दै राष्ट्र बैंकले सिमा तोकेको हो ।

बढी हुनेले घटाए, कम हुनेले बढाए

२०७५ सालमा कल डिपोजिटमा सिमा तोक्दा सबैभन्दा बढी प्राइम बैंकको थियो । प्राइम बैंकको कल डिपोजिटको हिस्सा कुल निक्षेपमा २५ प्रतिशत थियो ।

अहिले प्राइम बैंकको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा ८.४७ प्रतिशत छ ।

दोस्रोमा सबैभन्दा बढी त्यो बेला कल डिपोजिटको हिस्सा नेपाल क्रेडिट एण्ठ कमर्श(एनसीसी) बैंकको थियो । एनसीसी बैंकको १९.७६ प्रतिशत हिस्सा कल डिपोजिटको २०७५ सालमा थियो ।

अहिले त्यो घटेर ७.७० प्रतिशतमा छ । १७ प्रतिशतमा रहेको सिभिल बैंकले पनि ८.८० प्रतिशतमा कल डिपोजिटको हिस्सा घटाएको छ । सेञ्चुरी बैंकले पनि १७ प्रतिशतबाट घटाएर ५.२ मा झारेको छ ।

राष्ट्र बैंकले सिमा तोक्दा सबैभन्दा न्यून कल डिपोजिटको हिस्सा कृषि विकास बैंकको रहेको थियो । कृषि विकास बैंकको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा त्यो बेला ०.६६ प्रतिशत रहेको थियो ।

अहिले कृषि विकास बैंकको कुल निक्षेपमा कल डिपोजिटको हिस्सा ५.२८ प्रतिशत पुगेको छ । कुल निक्षेपमा १० प्रतिशतसम्म कल डिपोजिट लिन पाउने व्यवस्था गरेसँगै कल डिपोजिट कम भएका बैंकहरुले निक्षेप बढाउनको लागि यसको सहायता लिएको देखिन्छ ।

राष्ट्र बैंकले १० प्रतिशतको सिमा तोक्दा नेपाल एसबिआई बैंकको निक्षेपमा कल डिपोजिटको हिस्सा २.४ प्रतिशत रहेको थियो । अहिले यो ४.६५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु