बैंक तथा वित्तीय संस्था कतै बन्द, कतै आलोपालो



काठमाडौं । कोरोनाका कारण बैंक तथा वित्तीय संस्था कुनै जिल्लामा पूर्णरुपमा बन्द गरिएका छन् भने कुनै जिल्लामा आलोपालो प्रणाली अनुसार नै सञ्चालन गरिएको छ ।

कोरोनाका कारण स्वास्थ्य जोखिम बढेपछि राजधानी काठमाडौंलगायतका प्रमुख शहरमा समेत आलोपालो प्रणालीमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले न्यून कर्मचारी राखेर बैंकिङ सेवा दिन यसअघि नै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

विवरण अनुसार ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु शुक्रबारदेखि बन्द भएका छन् ।

जिल्लामा तीव्ररुपमा कोभिड–१९ सङ्क्रमण बढेपछि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो ।

फुङ्लिङ बजारमा यही वैशाख २० गतेदेखि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुका कार्यालयहरु सञ्चालन हुँदै आएपछि जिल्ला प्रशासन कार्यालयले आज शुक्रबारदेखि नै लागू हुने गरी बन्द गर्ने निर्देशन गरेको थियो ।

अत्यावश्यक परेमा एकजना कर्मचारी राखेर सेवा प्रदान गर्न जिल्ला प्रशासन आग्रह गरिएको छ । निषेधाज्ञा जारी भएसँगै फुङ्लिङ बजार सुनसान भएको छ ।

दिन प्रतिदिन जिल्लामा कोभिड–१९ संक्रमित संख्या बढ्दै गएको कोभिड–१९ का स्रोत व्यक्ति प्रतिमा खरेलले बताए । तीव्ररुपमा सङ्क्रमित बढ्दै गएपछि नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिकाबाहेक अन्य स्थानीय तहले अत्यावश्यक सेवाबाहेकका सबै सेवा स्थगित गरेका छन् ।

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था
कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । शुक्रबारदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ ।

सदरमुकाममा २८ वाणिज्य÷विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो । प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ ।

बागलुङ नगरपालिकामा मंगलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले खाद्यन्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ । अन्य पसल, व्यवसाय बन्द छन् । अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन् ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञालाई थप कडा तुल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पत्र पनि वितरण नगर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ । अधिकांश संक्रमित होम आइसोलेशनमै रहेपनि गम्भीर लक्षण लिएर अस्पताल पुग्ने संक्रमितको संख्या पनि दैनिक बढ्दो छ ।


क्लिकमान्डु