बैंकका कर्मचारीको बोनस रकम १३.११% ले बढ्यो, कुनको कति ? (सूचीसहित)



काठमाडौं । कोरोना कहरबीच पनि बैंकका कर्मचारीले पाउने बोनस १३.११ प्रतिशतले बढेको छ ।

सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नाफाबाट कर्मचारीका लागि ८ अर्ब ७ करोड २७ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याइसकेका छन् ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीलाई आर्जित नाफाबाट ७ अर्ब १३ करोड ७० लाख रुपैयाँ बोनसका लागि छुट्याएका थिए । चालु आवको गत आवको सोही अवधिको तुलनामा यो रकम ९३ करोड ५७ लाख रुपैयाँले बढी हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये गत आवको चैत मसान्तको तुलनामा २१ वटा बैंकले चालु आवको सोही अवधिमा कर्मचारीलाई वितरण गर्ने बोनशमा वृद्धि गरेका छन् भने ६ वटा बैंकले भने कर्मचारीलाई छुट्याउने बोनस गत वर्षको चैत मसान्तको तुलनामा घटाएका छन् ।

जसमा बोनस बढाउने बैंकमा कुमारी बैंक सबैभन्दा अघि छ । कुमारी बैंकले गत आवको चैत मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा बोनस रकम ७३.४३ प्रतिशतले बढाएको छ भने कृषि विकास बैंकले सबैभन्दा कम १.८७ प्रतिशतले कर्मचारीको बोनस बढाएको छ ।

साथै ६ वटा वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस रकम भने घटेको छ । गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कर्मचारीले पाउने बोनसमा सेञ्चरी बैंकले ६०.८९ प्रतिशतले र सबैभन्दा थोरै एनसीसी बैंकले ५.६२ प्रतिशतले बोनस रकम घटाएका छन् ।

कोरोनाको कहरमा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्दा अधिकांश संघसंस्था तथा रोजगार प्रतिष्ठानको नाफा घटेको छ । तर बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार सो अवधिमा बैंकहरुको खुद नाफा भने १३.५० प्रतिशतले वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कर्मचारीले पाउने बोनस रकम समेत वृद्धि भएको हो ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । कर्मचारीले बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस वापत पाउँछन् । साथै, बोनस ऐनअनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ ।

अहिले बैंकहरुले छुट्याएको बोनसमा चौथो त्रैमासमा आर्जन गरेको नाफाबाट छुट्याइने बोनसलाई जोडेर आगामी आवमा बैंकहरुले कर्मचारीलाई वितरण गर्नेछन् ।

त्यसमा केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैंमा र वार्षिक साधारणसभामा किस्ता÷किस्ता गरेर वितरण गर्छन् ।

कर्मचारीको बोनस कुन बैंकको कति ?
चालु आवको चैत मसान्तसम्मको आर्जन गरेको नाफाबाट बैंकहरुले कर्मचारीका लागि न्यूनतम ५ करोड ६८ लाख रुपैयाँदेखि ५८ करोड २२ लाख रुपैयाँसम्म बोनसका लागि छुट्याएका छन् ।

जसमा सबैभन्दा बढी नबिल बैंकले ५८ करोड २२ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ५ करोड ६८ लाख रुपैयाँ छुट्याएको हो ।

यसैगरी, आर्जित नाफाबाट कर्मचारीलाई दिने बोनसमा गत वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा वृद्धि गर्नेमा सबैभन्दा अग्रपंक्तिमा कुमारी बैंक छ ।

बैंकले कर्मचारी बोनसमा ७३.४३ प्रतिशतले वृद्धि गरी २९ करोड ९ लाख रुपैयाँ पुर्याएको हो ।

साथै, सो अवधिमा नेपाल बंंगलादेश बैंकले ६२.५८ प्रतिशतले थप गरी २५ करोड ८४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५३.६७ प्रतिशतले थप गरी ३३ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, गत वर्षको चैत मसान्तको तुलनामा चालु आवको चैत मसान्तमा कर्मचारीलाई छुट्याउने बोनसमा ३ वटा बैंकले ५० प्रतिशतभन्दा बढी, १० वटा बैंकले २० देखि ५० प्रतिशतसम्म बोनस रकम वृद्धि गरेका छन् । साथै, ५ वटा बैंकले १० देखि १५ प्रतिशतसम्म र ३ वटा बैंकले ५ प्रतिशतभन्दा कमले कर्मचारी बोनस रकम वृद्धि गरेका छन् । साथै ६ वटा बैंकको भने बोनस घटेको छ ।


क्लिकमान्डु