विकास बैंकलाई सकेसम्म डिजिटलमाध्यमबाट सेवा प्रवाहमा जोड दिन डेभलपमेन्ट बैंकर्स संघको सुझाव
काठमाडौं । विकास बैंकहरुको छाता संगठनले डिजिटल बैंकिङ प्रविधिको प्रयोगमा आउने जोखिम न्यूनिकरण गर्दै कारोबार गर्न आग्रह गरेको छ ।
नेपाल डेभलपमेन्ट बैंकर्स संघले डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोबार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गर्न सबै विकास बैंकहरुलाई सुझाव दिएको हो
।
संघले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न चुनौती थपेको उल्लेख गरेको छ ।
निषेधाज्ञामा डिजिटल कारोबार बढी हुने भएकाले यस सम्बन्धी हुने जोखिम न्यूनिकरण गर्नका लागि सदस्य बैंकहरुले लागू गरेका उत्तम अभ्यास उपलब्ध गराउन मिल्नेसम्मको सीमाभित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने संघले सबै विकास बैंकहरुलाई भनेको छ ।
साथै, डिजिटल बैंकिङ प्रडक्टबाट कारोबार गर्न ग्राहकलाई उत्प्रेरित गर्ने, उपलब्ध र सम्भव भएसम्मका सञ्चार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।
यसबाहेक संघले कोरोना भाइरसको दोस्रो लहर विश्वव्यापी रुपमा फैलिरहेको र नेपालको उपत्यकालगायत धेरै जिल्लामा तीव्ररुपमा फैलिइरहेको जानकारी गराउँदै निषेधात्मक आदेशको अनुपालना गर्दै र आवश्यक सजगता अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नका लागि संघले उल्लेख गरेको छ ।
यसैगरी, संघले सरकार र राष्ट्र बैंकको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि सम्भव भएसम्मका उपायहरुको अवलम्बन गर्ने भनेको छ । साथै, निषेधाज्ञा जारी भएका स्थानमा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिभित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकबीच समन्वयताका लागि आदान प्रदान गर्नुपर्ने छ ।
यस्तै, विकास बैंकहरुले सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरुको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेवसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउनेलगायतका सुझाव विकास बैंकहरुलाई संघले दिएको छ ।