कहाँबाट कसरी जाने रारा ? कति खर्च लाग्छ ?



काठमाडौं । तपाईंहाामी कोरोनाका कारण झन्डै एक वर्ष थुनिएर बस्यौं । त्यसैले नयाँ वर्ष २०७८ को अवसरमा तपाईंले कतै घुम्न निस्कने सोच बनाउनु भएको हुनसक्छ । यदि रिफ्रेस हुनका लागि कतै घुम्न निस्कने सोचमा हुनुहुन्छ भने रारा तपाईंका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

त्यसैले आज हामी तपाईंलाई कसरी रारा तालबारे विशेष जानकारी गराउँदैछौं ।

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो रारा । मुगु जिल्लामा रहेको रारालाई राजा महेन्द्रले वि.सं. २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ ।

रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ भने लम्बाइ १०.८ किलोमिटर छ ।

तर, रारा तालले लागि विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन । आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बास पाउने अवस्था छैन ।

रारा तालको छेउमै डाँफे होटललगायत २/३ वटा मात्रै बास बस्ने ठाउँ छ । भएका होटलमा पनि प्रसस्त मात्रामा रुम छैनन् ।

होटलले आएका पाउनालाई पाल टाँगरे राख्ने गर्छ । रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो ।

घामको किरणअनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । नेपालको सबै भन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकका आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीयरुपमा आगमन हुने गरेको छ ।

कसरी जाने रारा ?

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो ।

तर, अहिले रारा जान १० दिन हिड्नु पर्ने बाध्यता छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ ।

काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिँडेर ४/५ घन्टामा रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनका लागि गाडीले २५ देखि ३० हजार रुपैयाँसम्म लिन्छ । तर, जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिन लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।

सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

त्यसका पनि फोरहव्हील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ । हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ ।

ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्नेहो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ ।

डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घन्टाको हिडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक दुई वटा होटल मात्रै छ । जहाँ जडबुटी मसला चियाको स्वादमा चिया खान पाइन्छ ।

खालीचौरबाट बिस्तारै हिड्दै हिड्दै काभ्रा पुग्न सकिन्छ । काभ्रामा पडाडको डिस्कामा खोपिएको स-सना पुरानै शैलीका घरहरु हेर्न पाइन्छ । त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट पनि एक घन्टाको उकालो हिडेर जुम्लाकै भुलभुले पुगिन्छ । भुलभुलमा भने सवारी आवतजाव पनि राम्रै छ ।

भुलभुलपछि रारा राष्ट्रिय निकुन्जको चेक पोष्ट सुरु हुन्छ । चेकपोष्टबाट करिब एक सय मिटर अगाडी बढ्ने बित्तिकै दुईवटा बाटाहरु आउँछन । जहाँबाट गएपनि रारा पुग्न सकिन्छ । वायापट्टि लाग्दा अग्ला अग्ला डाडाँ पार गर्दै रारा पुग्न सकिनछ । तर, अर्कोबाटो लाग्दा भने झ्यारी भने ठाउँमा पुग्न सकिन्छ । झ्यारी पुग्न भने सहज बाटो छैन । जंगलको बाटो सिधै ओरालो झर्नु पर्छ । झ्यारीमा खाना नास्ताका लागि होटल पनि पाइन्छ । झ्यारीबाट भने करिब तीन घन्टाको यात्रा पछि रारा नजिकैको पाटनमा पुग्न सकिन्छ ।

रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यले सबैको थकान भुलाइदिन्छ ।

रारा छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल रु ’ मनमा कौतुहलता चलिनै रहेको हुन्छ । सल्लाघारीको बीचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्न कठिन हुने बुट्टयानहरूका साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउहरू । झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीतले साउती गर्दछ । झन्डै ३० मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही हो रारा । त्यसमा पनि राराले फेर्ने विभिन्न रुपले पनि सबैको मन तानेको हुन्छ ।

खर्च कति ?

रारा घुम्न जाने सोचमा हुनुहुन्छ भने खर्च धेरै हुने गन्तव्यको रुपमा नलिदा हुन्छ । रारा जानका लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १८/१९ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ ।

काठमाडौंबाट २८ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारातालसम्म हिडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ ।

रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ । फेरि सोही रुटमा पर्कदा करिब १८/१९ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४ हजारदेखि ४५ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि २० हजार भन्दा बढी खर्च हुँदैन ।

तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने ३/४ हजार रुपैयाँसम्म बढी लाग्नसक्छ ।

उपयुक्त समय कहिले ?

रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।

ताल्चा-नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृष्य कैद गर्न सक्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ ।

सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्द नै नभएको महशुस हुन्छ । । राराबाट पश्चिमतर्फ तीन घण्टा हिडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।  


पुष्प दुलाल