बैंकको संख्या घटाउनु पर्छजस्तो लाग्दैनः सनराइज बैंकका सीइओ सुमन शर्मा

क्लिकमान्डु २०७७ चैत २० गते १८:४० मा प्रकाशित

बैंकिङ क्षेत्रमा २ दशभन्दा बढीको अनुभव बोकेका सुमन शर्मा अहिले सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । सन् १९९७ देखि नेपाल एसबिआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका शर्मासँग एनएमबि, ग्लोबल आइएमई बैंक तथा माछापुच्छ्रे बैंकमा काम गरेको अनुभव छ । सनराइजमा आउनुअघि उनी माछापुच्छ्रे बैंकको सीइओ थिए । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकाेत्तर  गरे का शर्मा अर्थशास्त्रका गोल्डमेडलिस्ट पनि हुन् । नेदरल्याण्डबाट शर्माले एमबिए गरेका छन् । पछिल्लो समय कोरोनाले बैंकिङ क्षेत्रमा पारेको असर तथा अवसरका साथसाथै विवादको भूमरीमा रहेको भएको सनराइज बैंकको नेतृत्वमा कसरी सफल होलान् ? लगायतका विषयमा क्लिकमाण्डूका लागि पुष्प दुलाल र आशीष ज्ञवालीले गरेको कुराकानीः

विगत केही वर्षयता सनराइज बैंकको सञ्चालक समितिभित्र चरम विवाद देखियो । र, पटक-पटक राष्ट्र बैंकले मिलाइदिएको कुरा तपाईंलाई थाहै होला । त्यो विवाद व्यवस्थापनसम्म आइपुग्यो । सीइओ कार्यकाल पूरा बाहिरिनू पर्यो । विवादै विवादको चक्रब्यूहूमा फसेको सनराइजमा तपाईं जस्तो बौद्धिक व्यक्तिलाई कसरी सीइओ भएर चलाउन सक्छु भन्ने आँट आयो ?

यसअघि म ४ वर्षे कार्यकालका लागि माछापुच्छ्र्र्रे बैंकमा सीइओ थिएँ । तर, २१ महिनामै छोडेँ । सीइओले पूरै कार्यकाल खानुपर्छ भन्ने छैन । जहाँसम्म सनराइजको विवादको छ, त्यो मैले तपाईंहरुकै अनलाइन मिडियामा पढेको हूँ । म यहाँ सीइओ भएर आएको डेढ महिना भयो । पूर्णरुपमा व्यवसायिक ढंगले छलफल हुन्छ । विवाद छ भन्ने कुराको कुनैपनि फिलिङ्स नै भएको छैन । मलाई सबै संचालक समितिका सदस्यले विश्वास गर्नु भएको छ । मैले उहाँहरुको विश्वास जित्छु भन्ने थियो र छ । बैंक भद्रगोल छैन । धेरै राम्रो अवस्थामा छ । बैंकका ८ लाखजति ग्राहक छन् । डिजिटल बैंकमा हामी अग्रणी छौं । रिटेल ग्राहकको संख्या पनि निकै ठूलो छ ।

सनराइजमा पुरै कार्यकाल बिताउन सक्छु भन्ने लागेको छ ?

म आफू पूरा कार्यकाल बिताउन सक्छु भन्नेमा विस्वस्त छु । व्यवसायिक ढंगले हामीले काम गरेमा यसमा समस्या हुँदैन । मर्जरलगायतका कारणले निस्कनु परेमा अर्को कुरा हो । अहिलेसम्म मैले पाएको वातावरणको आधारमा पुरै कार्यकाल बिताउन सक्छु भन्ने विश्वास छ ।

यसअघि कार्यकाल पूरा नगरी बाहिरिएको अनुभव तपाईंसँग छ । बैंकमा सीइओले कार्यकाल पूरा गर्न नसक्नुमा सीइओ वा सञ्चालक कसको दोष हो ?

बैंकिङ क्षेत्र धेरै नै प्रतिस्पर्धात्मक छ । धेरै खाले टार्गेटहरु हुन्छन् । कतिपय अवस्थामा टार्गेट पुरा हुँदैनन् । बाह्य कारण अहिलेका लागि कोभिड नै भन्नुहोस् । तरलतामा आउने उतारचढाव जसले लक्ष्य पूरा गर्न निकै कठिन हुन्छ । बैंकमा सीइओहरुले पूरा कार्यकाल पूरा नगरेको भन्ने नै छैन । केही बैंकमा ३ कार्यकालसम्म एउटै सीइओले पनि काम गरेका प्रसस्तै उदाहारण छन् । व्यक्तिअनुसार यो फरक पर्छ । संचालक समिति र सीइओको काम गर्ने शैलीले फरक पर्छ ।

एक वर्षपछि बैंकिङ क्षेत्रमा सीइओको रुपमा फर्कनुभएको छ । कोभिडपछिको बैंकिङ क्षेत्रमा के परिवर्तन भएको अनुभव गर्नुभयो ? र, सनराइजलाई कसरी अगाडि बढाउनुहुन्छ ?

बैंकिङ भनेको रकेट साइन्स होइन । यो टिमवर्कमा काम गर्ने हो । टिममा व्यवसायिक ढंगले काम गर्दा सफल हुने हो । कोभिडको कारणले डिजिटाइजेशनमा धेरै राम्रो प्रभाव परेको छ ।

फेस टु फेसभन्दा फेसलेस बैंकिङ ग्राहक र बैंकको प्राथमिकतामा छ । बैंकले आफ्नो प्रविधिमा लगानी थपेको देखिन्छ । जसले गर्दा धेरै राम्रा कामहरु डिजिटल बैंकिङमा भएका छन् । जसले गर्दा बैंकिङ क्षेत्र डिजिटाइजेशनमा गएको छ ।
सनराइज अरुभन्दा डिजिटल बैंकमा निकै अगाडि बढेको छ । धेरै फिचर भएका डिजिटल बैंकिङ प्रोडक्ट छन् । विद्युत् प्राधिकरणको बिल तिर्नको लागि मिस कल दियो भने पनि पेमेन्ट हुन्छ । अरु थुप्रै इनोभेसनको कुरा पनि गरेका छौं ।
बैंकको भविष्यका लागि आर्टिफिसिएल इन्टिलिजेन्स ( एआई)मा जोड दिने रणनीति हो । यो भयो भने धेरै निर्णय प्रक्रिया एआइमार्फत् सजिलोसँग गर्न सकिन्छ भन्ने हो ।

आर्टिफिसियल इन्टिलिजेन्स कहिले देखि शुरु होला ?

धेरै कुरालाई एआईको रुपमा राख्न सकिएला । यो इनहाउस नै डेभलप गर्ने कुरा हो । मोडल बैंक फाइनान्सिङहरु जसले डिफल्टर फोरकास्ट गर्न सकोस् यस्ता कुराहरु एआइमार्फत गर्न खोजेका छन् । यसमा फेमवर्क बनाएर अगाडि बढ्ने हो । यो प्रोडक्टअनुसार गर्दै जाने हो । डाटा माइनिङको काम गर्नुपर्छ । कुनै प्रोडक्ट हामीले एकवर्षमा गर्यौं भने अर्कोका लागि समय लाग्नसक्छ । त्यो गर्न सकेमा सनराइजले धेरै बैंकलाई पछाडि पार्नसक्छ ।

बैंकिङ क्षेत्रको तथ्यांक हेर्दा कोरोनाको असर नपरेको हो कि जस्तो देखिन्छ नि ?

कोरोनाको असर परेको छ । ऋणको असर ब्यालेन्ससिटमा पर्न भने बाँकी छ । कोरोनाले गर्दा निक्षेपमा राम्रो परेको छ । व्यक्तिहरुले नगद घरमा नराख्ने डिजिटल कारोबार गर्ने बानी भएको छ । विदेशबाट नेपालमा पैसा पठाउनेले अहिले बैंकिङ च्यानलमा पठाउने क्रम बढेको छ । डिजिटल बैंकिङले क्यूआर कोडले गर्दा त्यसले पारदर्शीता ल्याउनेछ ।

ऋणको हकमा पुनरसंरचना भएको छ । केही ब्याज तिरेर नयाँ तालिका बनेको छ । जसले गर्दा ऋण बिग्रने अवस्था देखिएन । तर, पुनरसंरचना भएका सबै ऋणीका व्यवसाय राम्रोसँग चल्ने हुन् या होइनन् त्यो थाह छैन । यसको असर पर्न बाँकी छ ।

असर कहिले देखिएला ?

असार मसान्तसम्म केन्द्रिय बैंकको सहुलियत छ । त्यसपछि थप सहुलियतको कार्यक्रम आएन भने अर्को वर्ष बैंकको ब्यालेन्ससिटमा प्रभाव पर्ने हो । त्यो हुँदा खराब कर्जा बढ्ला नाफा घट्नसक्छ ।

ऋणको विस्तार हेर्दा अर्थतन्त्र सामान्य अवस्थामा पुगेको देखिन्छ । खास कुरा के हो ?

ऋण के योजनामा विस्तार भयो । व्यवसाय बढ्नका लागि भयो या कोभिडको प्रभाव हटाउनको लागि विस्तार भयो । राष्ट्र बैंकको सहुलियतको व्यवस्थाले पनि ऋण बढ्यो । कुनै ग्राहकलाई पहिला ८० प्रतिशतसम्म ऋण दिन मिल्थ्यो भने अहिले ९० प्रतिशतसम्म ऋण दिन मिल्छ । न्यू नर्मलमा अर्थतन्त्र चलायमान बनेको छ । आर्थिक गतिविधि बढेको छ । जस्तोः पर्यटन बाहेक अरु क्षेत्रमा सामान्य अवस्थामा पुगेको छ । गाडीको आयात बढेको छ । यसले मान्छेको आत्मविश्वास बढेको छ । ८/९ महिना माग नभएको अवस्थाबाट माग बढेको देखिन्छ ।

जुन किसिमले ऋणको विस्तार भएको छ । त्यो अनुसार आर्थिक बृद्धिदर बढ्नुपर्ने हो । तर, आर्थिक बृद्धिदर कमै छ नि ?

हाम्रो आर्थिक बृद्धिदर कोरोनाको कारण नकरात्मक भएको छैन । यो मानेमा हामीलाई भाग्यमानी भन्नुपर्यो । यो वर्ष पनि ऋणात्मक हुने छैन । करिब ३ प्रतिशतको आर्थिक बृद्धिदर हुने अनुमान छ । विकसित देशहरु नेगेटिभमा गएका छन् । नेपालको हकमा १०० अर्बको लगानीमा हिँजोको दिनमा ८० अर्बसम्म ऋण दिन मिल्ने थियो भने अहिले १० अर्ब थप ऋण दिन मिल्छ । त्यसको प्रभाव अहिले परेको हो । अब व्यवसायिक गतिविधि बढेको छ । स्टिल उद्योगमै लामो समयसम्म उधारोमा व्यवसाय हुन्थ्यो । अहिले उधारोमा काम भएको छ ।

औद्योगिक क्षेत्रको कर्जा नढ्ने तर आम्दानी घटेको बेला व्यक्तिगत कर्जा भने बढ्नुले के संकेत गर्छ ?

एउटा कुरा हामीले के कुरा बुझ्नु पर्छ भने निर्माण क्षेत्रमा काम नबढ्दासम्म धेरै मान्छेहरु बेरोजगार हुन्छन् । निर्माण क्षेत्रमा काम हुन थालेको स्टिल र सिमेन्ट उद्योगमा गएको कर्जाले देखाएको छ । निर्माण व्यवसायले रोजगारी सिर्जना गरेको हुन्छ भने अर्थतन्त्रमा माग बढाएको हुन्छ । निर्माण क्षेत्रको उद्योग चलायमान भएन भने यसको असर अरु उद्योगलाई पर्छ । मान्छेलाई आन्तविश्वास बढेपछि मात्र गाडी किन्ने घर बनाउने काम गर्ने हो । अहिले आत्मविश्वास बढेको मान्न सकिन्छ ।

सिमेन्ट र डण्डी उद्योगमा गएको कर्जाले अर्थतन्त्रमा राम्रो असर पर्न थालेको छ भन्न खोज्नु भएको हो ?

यो एउटा मुख्य इन्डिकेटर हो । अन्तराष्ट्रियरुपमा पनि अर्थतन्त्र शिथिल भयो भने निर्माणको काम सरकारबाट आउने गर्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ । सिमेन्ट र डण्डी उद्योगमा माग भएको मागले अर्थतन्त्र चलायमान बनाउने संकेत देखिन्छ ।

बैंकहरुको पुस मसान्तसम्मको ब्यालेन्ससिट हेर्दा सेयर बजारमा लगानी गरेर राम्रो नाफा कमाएको देखिन्छ । सेयर बजारमा बैंकहरुले चलखेल गरेर नाफा किन कमाउनु पर्यो ?

अरु बैंकको बारेमा थाह भएन । सनराइज बैंकको हकमा भने हामीले यसमा संलग्न छैनौं । जसकारण चलखेलको कुरा थाह भएन । सेयरको ट्रेडिङ बैंकको पोर्टफोलियो अनुसार गर्न पाएको छ । सनराइज बैंकले त्यस्तो काम गरेको छैन ।

कोभिडको असर पर्न बाँकी छ भन्नुभयो । व्यवसायीहरुले बैंकले सहुलियत नै दिएनन् भन्ने गुनासो छ । के साँच्चिकै बैंकले सहुलियत नदिएकै हुन् त ?

सनराइज बैंकले दिएको छ । अरु बैंकको बारेमा थाह भएन । बैंकहरुले यसरी कोरोनाको कारण ऋण तिर्न नसकेकाहरुको लिलामी गरेका छन् जस्तो लाग्दैन । सहुलियत दिएकै छन् जस्तो लाग्छ ।

बैंकहरुले नाफामा मात्र ध्यान दिए ऋणीलाई कुनै प्रकारको सहुलियत दिएनन् भन्ने व्यवसायीहरको आरोप छ नि ?

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने व्यवसायीले सहुलियत पाएको देखिन्छ । ९१ अर्ब रुपैयाँ पुनरसंरचना भएको तथ्यांक केन्द्रिय बैंकले दिएको छ । यसका लागि असार मसान्तसम्मको समय छ । सनराइजन बैंकको कुरा गर्दा हामीले धेरै ऋणहरु पुनरसंरचना गरेर सहुलियत दिएका छौं । सबै बैंकले सहयोग गरेका छन् । यसरी सहयोग नगरेको भए ब्यालेन्ससिटमा यसको असर पर्नुपर्ने थियो । त्यो हुँदा निस्क्रिय कर्जाको अनुपात (एनपीए) बढ्ने थियो । कसैको पनि एनपिए बढेको ब्यालेन्ससिट आएको छैन । लिलामीको सूचना कोभिड अगाडि नै ऋण तिर्न नसकेका ऋणीहरुको हो ।

तर, बैंकहरुले पहुँचवालालाई मात्र सहुलियत दिए भन्ने पनि आरोप छ नि ?

म यो कुरामा सहमत छैन । किनभने बैंकको प्रोटफोलियोमा ठूला पहुँचवालाहरु २५ प्रतिशत होलान् । ७५ प्रतिशत ठूला ग्राहक हुन् । त्यो हुँदा ठूलो स्केलमा एनपिए आउनुपर्ने हो ।

तपाईँले डिजिटल बैंकिङ बढ्ने कुरा गर्नुभयो । अब डिजिटल बैंकिङ कसरी बढ्ला ?

पछिल्लो समय क्यासलेस कारोबार क्यूआरबाट निकै नै बढ्ने देखिएको छ । हामीले केही दिनअघि दक्षिणकालीमा क्यूआर कोड सुरुवात गरेका थियौं । त्यहाँ खुवाको पसल संचालकलाई क्यूआर राखेका थियौं । उहाँ त्यसबाट निकै उत्साहित भएको पाएका थियौ । त्यो तहको आत्मविश्वास साना तथा खुद्रा व्यापारीमा बढेको छ । बैंकहरु सबैले यसको चेतना बढाउन लागेका छौं । यसको ग्राहक रातारात छिटो परिवर्तन हुने होइन । पहिला करेन्ट एकाउन्टमा मात्र क्यूआरकोड दिएकोमा अहिले सेभिङमा पनि दिएको छ । यसले चेतना बढाउने छ ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई निकै नै प्रवर्द्धन गरेको छ । तर, यसको इको सिस्टममा देखिएको समस्या के हो ?

यसमा अहिले समस्याभन्दा पनि ग्राहकलाई जनचेतनाको काम अगाडि बढाउने हो । उदाहरणका लागि मेरा बाबुआमाले आइपीओ खुल्दा पेपरमा नै भर्ने गर्नुहुन्थ्यो । उहालाई भर्चुअल रुपमा सेयर राख्न कन्भिन्स गर्नुपर्यो । पहिला पैसा दराजमा राख्ने गरिन्थ्यो । अहिले एकाउन्टमा भएपनि हुन्छ । आत्मविश्वास बढाउनको लागि जनचेतना बढाउने हो यसमा सबैको भूमिका हुन्छ ।

डिजिटल प्रणालीसँगै यसको सुरक्षाको कुरा आउँछ । यसका लागि बैंकहरु लगानी गर्न कत्तिको तयार छन् ?

लगानी कति गर्नुपर्छ त्यो भन्न सकिँदैन । सुरक्षामा कमी कमजोरी हुन्छ । बैंकले सुरक्षा दिने हो । तर, यति गर्दा पनि कोही कमजोरी देखिएको हुन्छ । अन्तर्राष्ट्रियरुपमा पनि कमजोरी देखिएको हुन्छ त्यसलाई सुधार गर्दै जाने हो । म आफू सियियर लेभलमा ४ वटा बैंकमा काम गरेँ । बैंकको संचालक समिति या उच्च व्यवस्थापनमा आइटीमा लगानी गर्नुपर्छ भन्ने सोच छ । र, लगानी पनि भएको छ । बैंकले यतिठूलो नाफा कमाएको छ भने सुरक्षामा लगानी गर्नको लागि समस्या हुँदैन ।

विश्वमा क्रिप्टो करेन्सीको स्विकार्यता बढ्दो छ । भिसा कार्डले पनि मान्यता दिने भनेको छ । बैंकिङ क्षेत्रमा यसले कस्तो चुनौती ल्याउला ?

क्रिप्टो लगायतका भर्चुअल करेन्सीमा नेपालमा लगानी गर्न प्रतिबन्ध छ । तत्काल यसको प्रभाव नहोला । हामीजस्तो देशमा क्रिप्टो लगायतका कुराहरुको प्रभाव छिटो नपर्ला । तर, विकसित देशमा यसको आकर्षण देखिन्छ । विकसित देशहरुमा देखिएका बजारका उपकरणहरु यहा कार्यान्वयन नहुन सक्छन् । यसबाहेक हाम्रो खाता परिवत्र्य नभएको हुँदा तत्काल यसको सम्भव देखिएको छैन ।

सनराइज बैंककै कुरा गरौं । मर्जर तथा एक्विजेशनको रणनीति के हो ?

सनराइज बैंक मर्जरका लागि निकै सकारात्मक छ । संचालक समिति र हाम्रो सिनियर म्यानेजमेन्ट यसको लागि निकै सकरात्मक छ । राम्रो खाले पार्टनर भेटियो भने मर्जरमा अगाडि बढ्ने हो ।

कस्तो संस्था खोज्नुभएको हो ?

वाणिज्य बैंक पनि हुनसक्छ । विकास बैंक पनि हुनसक्छ । ठूला संस्था पनि होला ।

कुनै संस्थासँग कुराकानी भएको छ कि छैन ?

मेरो लेभलमा यस्तो कुराकानी भएको छैन । संचालक समितिमा मर्जरमा जाने भन्ने कुरा भएको हो । तर, संस्थाहरु पहिचान भएको छैन । यसमा पहल गरौं भनेमा अर्को संस्थाको व्यवस्थापन तहमा कुरा गर्न सकिन्छ । सैद्दान्तिकरुपमा मर्जरमा जाने कुरा भएको हो । तर, अरु कुरा बढेको छैन । साना खाले कुरा हुनु एउटा कुरा हो । तर, निचोडमा आउने गरेर कुरा भएको छैन ।

सनराइजका लगानीकर्ता नाम गुमाएर मर्जरमा जान चाहन्छन् कि चाहँदैनन् ?

त्यो लेभलमा अहिले कुराकानी भएको छैन । मर्जरलाई सकारात्मकरुपमा लिएको हो ।

केन्द्रिय बैंकले बिग मर्जरको पनि कुरा गरेको छ । १२/१३ वटा बैंक भए हुन्थ्यो भने सुनिन्छ । नेपालमा बैंकहरुको संख्या बढी भएकै हो ?

ठूलो हुँदैमा बैंक राम्रो हुन्छ भन्ने हुँदैन । क्यापिटल बेस र रिक्सको कुरा राष्ट्र बैंकले दिएको छ । पूँजीकोष अनुपात र व्यवसायको आधारमा जोखिम थाहा हुन्छ । १० अर्बको पूँजी छ । र, १० अर्बको ऋण दिएमा बैंक जोखिम छैन । १०० अर्ब दिँदा जोखिम बढी हुने हो ।

बिग मर्जर हुँदा मुख्य सहरमा शाखाहरु दोहरिने हुन्छ । यसलाई स्थानान्तरण गर्नुपर्छ जुन खर्चिलो हुन्छ । टु बिग टु फेल पनि होला । मर्जरमा जनशक्ति मिलान गर्नु कठिन छ । यसलाई सहज बनाउन धेरै कठिनाई हुन्छ । कुनै बैंकमा एउटा लाइनका मान्छेहरु टप लेभलमा हुने अर्को मान्छेहरु साइड लाग्ने पनि भएको हुन्छ । त्यसले गर्दा निर्णय प्रक्रिया फास्ट हुने हुँदैन । २७ वटा बैंक हुँदा जुन किसिमको इनोभेसनमा बैंकहरुले लगानी गरेका छन् । भोलिका दिनमा १२ वटा हुँदा प्रतिस्पर्धा कम हुन्छ । र, ग्राहकले कम सुविधा पाउने सम्भावना हुन्छ ।

बिग मर्जरका लागि सकारात्मक र नकारात्मक दुवै असर हुन्छ । ग्राहकको दृष्टिकोणले हेर्दा बैंकको संख्या घटाउनु पर्छजस्तो लाग्दैन । तर, केन्द्रिय बैंकको दृष्टिकोणले हेर्दा घटाउनुपर्छ । केन्द्रिय बैंकको दृष्टिकोणबाट हेर्दा नियमनको कुरा होला । वित्तीय स्थायीत्वको कुरालाई ध्यान दिनुपर्छ ।

सन् २००८ को वित्तीय संकटमा अमेरिकामा ठूला बैंकलाई सरकारले बचाएको थियो । ठूला कम्पनीहरु डुब्दा राज्यले नै लगानी गर्नुपर्छ । त्यो हुँदा ठूला संस्थाले प्रणाली नै असर गर्छ । साना संस्था बिग्रेको अवस्थामा सरकारले केही गर्नु पर्दैन । ठूलाको लागि राज्यले भूमिका निर्वाह गर्नुपर्छ ।

सनराइज बैंकको लाभांश हेर्दा औसतभन्दा राम्रो देखिएको छैन । यसलाई बढाउने के सोच बनाउनु भएको छ ?

दोस्रो त्रैमाससम्मको विवरण हेर्दा हामीले राम्रो गरेका छौं । रिर्टन अन इक्विटीमा हाम्रो निकै नै राम्रो देखिन्छ । एनपिए पनि घटेको छ । हामीले दिएका ऋणीका व्यवसायहरु राम्रो भएमा सेयरधनीलाई राम्रो प्रतिफल दिनसक्छौं ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स