विद्युत् व्यापार सम्झौता गर्ने बंगलादेशको प्रस्ताव, नेपाली अधिकारीले दिएनन् जवाफ



काठमाडौं । बंगलादेशले नेपालसँग विद्युत् व्यापार सम्झौता गर्न प्रस्ताव गरेको छ । सन् २०१४ मा भारतसँग गरिएको जस्तै विद्युत् व्यापार सम्झौता गर्न बंगलादेशले नेपालसँग आग्रह गरेको हो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदबीच २०७५ मा नै दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

सोही समझदारीको आधारमा बंगलादेशले नेपालसँग विद्युत् व्यापारको द्विपक्षीय सम्झौताका लागि आग्रह गरेको हो ।

बंगलादेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव राखेको बंगाली सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपाली अधिकारीले भने सो विषयमा केही बताएका छैनन् ।

बंगलादेशको पत्रिका द डेलीस्टारका अनुसार बंगलादेशका प्रधानमन्त्री हसिनाका प्रेस सचिव ईशानुल करिमले नेपालका राष्ट्रपति भण्डारीसँग भेट गर्दै बंगाली प्रधानमन्त्री हसिनाले उक्त प्रस्ताव गरेको जानकारी दिएको उल्लेख छ ।

सन् २०४० सम्म बंगलादेशले नेपालबाट झण्डै ९ हजार मेगावाट बिजुली लैजाने विषयलाई रणनीतिक प्रस्तावका रुपमा राखेको छ । नेपाल र बंगलादेशको दुरी २७ किलोमिटर मात्रै रहेको छ ।

त्यसो त भारतीय प्रसारण लाइन तथा संयन्त्र प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजान सकिन्छ । त्यसका लागि प्रसारण शुल्क मात्रै तिरे पुग्छ । बंगलादेशले भारतबाट पनि झण्डै २ हजार मेगावाट बिजुली लगिरहेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेश लैजाने विषयमा सहमति भएपनि हालसम्म प्रवद्र्धक जिएमआरले कुनै काम गरेको छैन । कूल ९०० मेगावाट क्षमताको सो आयोजनाबाट ५०० मेगावाट बिजुली बंगलादेश लैजाने सहमति भएको छ ।

यस्तै, बंगलादेशका ऊर्जा उद्यमी र नेपालका ऊर्जा उद्यमीमा बीचमा संयुक्त सहकार्यका आधारमा आयोजना निर्माण गर्ने विषयमा पनि पटक पटक छलफल भएको छ । नेपालको बिजुलीको बजार तयार भइरहेको भएपनि सरकारले ध्यान दिननसक्दा कुनै पनि काम अगाडि बढेको छैन ।

नेपाल, भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकमा बंगलादेशसँग पनि छलफल गर्ने निर्णय भएको भएपनि कुनै ठोस काम भएको छैन । कोइलाबाट बिजुली उतपादन गरेर अर्थतन्त्रको विकास गरिरहेको बंगलादेशले नेपालको स्वच्छ ऊर्जालाई झण्डै १० रुपैयाँ प्रतियुनिटसम्म दिन तयार भइसक्दा समेत नेपाल सरकारले कुनै प्रयास नगर्नु भने दुःखद छ । त्यसो त प्रसारण लाइनलगायका विषयमा आफूहरुले नै भारतसँग कुरा गर्ने बंगलादेशको भनाइ छ ।

सोमबार बंगलादेशकी प्रधानमन्त्री हसिनाले पनि राष्ट्रपति भण्डारीसँगको भेटमा सो कुराको संकेत गरेको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिएका छन् ।

बंगलादेशका तर्फबाट त्यो स्तरको प्रस्ताव आउँदा नेपाली अधिकारीले कुनै ठोस जवाफ दिन नसकेको उनको भनाइ छ । हुन्छ, हामी छलफल गर्न तयार छौ मात्रै भनियो, बंगलादेशले त्यो भन्दा उच्चस्तरको प्रतिवद्धता खोजेको थियो ।

बंगलादेशमा सन् २०४० सम्म झण्डै ८० हजारदेखि १ लाख मेगावाटसम्म बिजुली आवश्यक पर्ने प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा गार्मेन्ट, टेक्सटायल जस्ता क्षेत्रमा बंगलादेशले गरेको प्रगति लोभलाग्दो रहेको छ । नेपाल र बंगलादेशका व्यवसायीकाबीचमा सहकार्य गरेर गार्मेन्ट व्यवसाय प्रबद्र्धन गर्न सकिन्छ ।


क्लिकमान्डु