एनसीएचएलको ‘कर्पोरेट पे’ क्रान्ति: चेकै नकाटी २० करोडसम्म भुक्तानी, बैंक पनि जानु नपर्ने
एक दशक अघिसम्म काठमाडौं उपात्यकामा चेक क्लियरिङ हुन ३ दिन लाग्थ्यो । मोफसलमा भने एक सातादेखि १५ दिनसम्म लाग्थ्यो । चेक क्लियरिङ म्यानुअल्ली हुन्थ्यो । बैंकका चेक साट्नेहरुको ठूलो लाइन हुन्थ्यो । अझ भनौं बैंकमा चेक साट्न जानुपर्यो भने दिन नै मायाँ मार्नुपर्थ्यो ।
यसरी चेक साट्न आम सर्वसाधारणलाई ठूलो सास्ती भएको महशुस गर्दै नेपाल राष्ट्र बैंकको अगुवाइमा सन् २००८ मा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को स्थापना भयो । र, सन् २०१० देखि एनसीएचएलले चेक क्लियरिङको काम गर्न थाल्यो । म्यानुअल्ली नै भए पनि एनसीएचएलले एक दिनमै चेक क्लियरिङ गर्न थाल्यो ।
चेक क्लियरिङमा देखिएको ठूलो सफलतासँगै एनसीएचएलले भुक्तानीका लागि चेक नै नचाहिने कनेक्ट आइपीएस र आइपीएस प्रणालीको विकास गर्यो ।
अहिले खुद्रा भुक्तानीका लागि मोबाइल वालेट, मोबाइल बैंकिङ लिएर कार्डहरुसम्मका अप्सनहरु छन् । तर, कर्पोरेट ग्राहकका लागि भने भुक्तानी गर्न चेक बोकेर बैंकको शाखासम्म पुग्नुपर्ने अवस्था थियो ।
अहिले एनसीएचएलले संस्थागत ग्राहकलाई पनि कार्यालयमै बसेर नै चेक नकाटीकनै भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरेको छ । ‘कर्पोरेट पे’ नाम दिइएको उक्त योजनाको शुरुवात ०७७ माघ १ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । सो अवसरमा गभर्नर अधिकारीले अब चेक काट्ने दिनहरु सकिन लागेको घोषणा पनि गरे ।
खुद्रा कारोबारको लागि मोबाइल बैंकिङ र वालेटले काम गर्छ । जुन क्यूआरबाट सम्भव हुँदै गएको देखिएको छ । त्योभन्दा ठूलो काम आइपीएस र कनेक्ट आइपीएसबाट हुन्छ । मध्यम र ठूला ग्राहकलाई कर्पोरेट पे ले बैंकमा नगएर नै भुक्तानी गर्न सक्ने अवसर दिएको छ । आम सर्वसाधारणहरु पनि डिजिटल पेमेन्टमा अभ्यस्त भइरहेका छन् । यसकारण आगामी दिनहरुमा चेक काट्नुपर्ने छैन ।
क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान ठूलो व्यवसायिक कारोबार गर्ने ग्राहकले अब बैंक जानका लागि कर्मचारी राख्नुपर्ने बाध्यता हट्ने बताउँछन् ।
‘तलबका लागि गरिने भुक्तानी होस् या राज्यलाई तिनुपर्ने राजस्व यी सबै काम कार्यालयमै बसेर गर्न सकिन्छ, यसका लागि बैंकको शाखामा जानुपर्ने बाध्यता हुँदैन,’ कर्पोरेट पेको योजना सुनाउँदै प्रधानले क्लिकमाण्डूसँग भने ।
अब कर्पोेरेट क्लाइन्टले क्लियरिङ हाउसले बनाएको सुरक्षित प्रणालीबाट भुक्तानी गर्न सक्छन् । जसले समयको बचतमात्रै हुँदैन, कर्पोरेटको खर्च पनि बचत हुन्छ ।
एनसीएचएलले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा, २० करोडसम्म भुक्तानी गर्न सकिने
कर्पोरेट पे मा अहिले २५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । १२ वटा बैंक तथा वित्तीय संस्थाले कर्पोरेट पे संचालन नै गरिसकेका छन् । ती बैंक तथा वित्तीय संस्थाबाट १०० वटा ग्राहकले कर्पोरेट पेमार्फत् ८ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् ।
‘आगामी वर्षदेखि कर्पोरेट पेमा ठूलो रकमको कारोबार हुने देखिन्छ,’ सीइओ प्रधानले प्रष्ट पारे ।
‘कर्पोरेट पे’ को विषयमा केन्द्रित रहेर क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानसँग क्लिकमाण्डूले गरेको कुराकानीः
‘कर्पोरेट पे’ योजनाको अवधारणा कसरी आयो ? यो किन आवश्यक छ ?
एनसीएचएलले संचालन गरेका विभिन्न भुक्तानीका योजनाहरुमा कर्पोरेट पे पनि पर्छ । आजको दिनमा रिटेल कस्टमरलाई विभिन्न खाले प्रोडक्ट बजारमा छन् । जस्तो वालेट कार्ड, मोबाइल बैंकिङ होस् या क्लियरिङ हाउसको कनेक्ट आइपीएस लगायतका प्रोडक्ट रिटेल ग्राहकका लागि छ ।
तर, ठूलो कारोबार गर्ने कर्पोरेट ग्राहकको लागि भने यस्तो प्रोडक्ट थिएन । व्यवसायिक संस्थाहरुले आजपनि चेकबाट नै पेमेन्ट गर्नुपर्ने र बैंकको शाखामा नै जानुपर्ने बाध्यता थियो । त्यो ग्यापलाई हटाउनका लागि कर्पोरेट पे को शुरुवात गरेका हौं ।
कर्पोरेट पेको सेवा कसरी लिने ?
यो संस्थागत मध्यम तथा ठूला ग्राहकका लागि तयार पारिएको योजना हो । र, यो प्रोडक्ट हाम्रा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई उपलब्ध गराउने छन् । जसमा ग्राहकले २० करोडसम्मको कारोबार गर्न सक्छन् । कारोबारको लिमिट भने बैंक अनुसार फरक पर्छ । कर्पोरेट क्लाइन्टका लागि ठूलो रकमको कारोबार गर्न क्लियरिङ हाउसले छुट्टै खालको सिस्टम समेत बनाएको छ ।
भनेपछि अब ठूला ग्राहकहरु बैंक जानु नपर्ने भयो, होइन त ?
रिटेल ग्राहकका लागि धेरै खाले अप्सन थियो । तर, कर्पोरेट ग्राहकका लागि यस्तो खाले अप्सन थिएन । जसले ठूलो आकारको पेमेन्ट गर्नुहुन्छ । जस्तो तलब, सरकारलाई बुझाउने रकम तथा बिक्रेतालाई दिने ठूलो आकारको रकम । त्यस्तो खाले पेमेन्ट ग्राहकले बैंकमा नआइकनै गर्न सक्ने व्यवस्था हामीले मिलाएका छौ ।
ग्राहकले कतिदेखि कतिसम्म कारोबार गर्न सक्छन् ?
हामीले कर्पोरेट पे भनेर ग्राहकलाई डिजिटल च्यानलको रुपमा दिएका छौं । तर, अन्डरलाइन कारोबारहरु भुक्तानी प्रणाली एनसीएचएलले दिएको कनेक्ट आइपीएस र एनसीएचएलबाट कारोबार हुन्छ । आजको दिनमा कनेक्ट आइपीएसबाट एकपटकमा १० लाख रुपैयाँसम्म अन्तरबैंक कारोबार गर्न सकिन्छ भने एउटै बैंक भएमा १ करोडसम्म कारोबार गर्न सकिन्छ । आइपीएसको हकमा २० करोडको कारोबार अन्तरबैंक कारोबारको सीमा छ । तर, बैंकले आफ्नो जोखिमको आधारमा यसको लिमिट तय गर्न सक्छन् ।
भनेपछि २० करोडसम्मको भुक्तानी अब चेक नकाटी गर्न सकिन्छ ?
हो । यसअघि दिनमा ठूला ग्राहकले चेक काटेर बैंकलाई अर्डर दिएर कारोबार गर्दै आएका थिए । अब चेक नकाटीकनै २० करोडसम्मको कारोबार गर्न सक्नेछन् ।
कर्पोरेट पेको सिस्टम अहिले भएको भुक्तानीको सिस्टममा के फरक छ ?
अहिले दुईवटा सिस्टम प्रयोग हुन्छ । बैंकले रिटेल कस्टमरका लागि भनेर दिएको सिस्टम पनि प्रयोग गरिरकेका छन् । आइपीएसको हकमा २० करोडसम्मको लिमिट छ । बैंकहरुको ५० करोडसम्म र नेपाल सरकारको हकमा २ अर्बको लिमिट छ । प्रोसेसिङ हुने कारोबार हुने अहिलेको सिस्टमबाट नै हो । कारोबार हुने कर्पोरेट पे अन्तर्गत गर्ने हो ।
कर्पोरेट पे को सेवा शुल्क कति हुन्छ ?
एचसीएचएलले कर्पोरेट पे सिस्टम भनेर पूर्वाधार तयार पारेको छ । र, त्यो सिस्टम बैंकलाई उपलब्ध गराएको छ । बैंक तथा वित्तीय संस्थालाई थप शुल्क नलाग्ने गरी सिस्टम दिएका छौं । बैंकले यसमा सेवा शुल्क आफैंले निर्धारण गरेर दिन सक्छन् । कारोबार शुल्कको हकमा कनेक्ट आइपीएस र आइपीएसमा लाग्ने सेवा शुल्क छ । कनेन्ट आइपीएसमा फण्ड ट्रान्सफर गर्दा २ रुपैयाँदेखि १५ रुपैयाँ र आइपीएसको हकमा २ देखि १० रुपैयाँ शुल्क लाग्छ ।
ठूलो पेमेन्टमा ग्राहकलाई विश्वास जगाउनुपर्ने चुनौती हुन्छ, कस्तो सुरक्षाको उपाय अबलम्बन गरिएकोछ ?
हामीले सुरक्षाको डिजाइजन राम्रोसँग हेरेका छौ । कर्पोरेट पे भनेर मध्यम र ठूलो खालको कारोबार हुन्छ । कर्पोरेट हकमो एकजनाले मात्र कारोबार गर्न नमिल्ने हुन्छ । त्यो समेतको व्यवस्था गरेर इन्टरनेटबाट पनि चल्न सक्ने र सुरक्षित नेटवर्कबाट समेत चल्न सक्ने गरेर व्यवस्था गरेका छौं । कसैले ठूलो अंकको कारोबार गर्दा सुरक्षित नेटवर्क प्रयोग गरेर कारोबार गर्न सक्छ ।
पब्लिक नेटवर्कबाट रिटेल नेटवर्कमा चलाएजस्तो पनि चलाउनु मिल्छ । कर्पोरेटको हकमा मेकर, चेकरदेखि लिएर बैंकले दिएको व्यवस्थामा हुन्छ । ठूलो अंकको कारोबारमा बैंकले पुनः परिक्षणसमेत गर्छ । प्राविधिकरुपमा सुरक्षित छ । कर्पोरेटहरु आन्तरिक प्रोसेस मिलाउनुपर्ने हुन्छ । कर्पोरेट ग्राहकले पनि आफ्नो पासवर्ड लगायतका कुरा सुरक्षित राख्नुपर्छ ।
कर्पोरेट पे को लिमिट कतिसम्म पुर्याउने योजना छ ?
हाम्रो बुझाइ एउटै पेमेन्ट सिस्टमबाट सबै खाले कारोबार हुनुपर्छ भन्ने छ । अन्र्तराष्ट्रिय प्राटिक्स हेर्दा फरक फरक खाले प्रणालीबाट फरक फरक खालको कारोबार हुने गरेको छ । हामीलाई सानो आकारको कारोबार गर्नका लागि वालेट चाहिन्छ भने मोबाइल बैंकिङ पनि चाहिन्छ । ठूलो कारोबाको लागि कनेक्ट आइपीएस चाहिने हो । त्यसपछि हामीले कर्पोरेट पे योजना ल्याएका छौं । त्योभन्दा माथिका लागि आरटीजीएस चाहिन्छ । वालेटदेखि आरजीटीएससम्म प्रयोग गरेर पेमेन्टलाई हामीले डिजिटल बनाउने हो । लिमिटमात्र बढाएर समस्याको समाधान दिन सक्दैन ।
एनसीएचएल शुरु गर्दा कारोबार डिजिटल भएका थिएन । अहिले धेरै कारोबार डिजिटल भएको छ । कर्पोरेट पे ले डिजिटल भुक्तानीमा थप कस्तो योगदान गर्ला ?
हामीले कनेक्ट आइपीएसको माध्यमबाट नेपाल सरकारको विभिन्न खाले भुक्तानीहरु तिर्नसक्ने व्यवस्था मिलायौं । व्यक्तिले सरकारलाई तिनुपर्ने रकम डिजिटलबाट बुझाउन सक्ने व्यवस्था हो । अब कर्पोरेट ग्राहकले हरेक महिना बुझाउनुपर्ने भ्याट लगायतका शुल्क आफैं बुझाउन सक्ने भयो । यसले कर्पोरेट क्षेत्रलाई सहज हुन्छ । नेपाल सरकारलाई पनि कर संकलन गर्न सहज भयो ।
भनेपछि अब कर्पोरेट क्लाइन्टले चेक बोकेर बैंक जाने कर्मचारी राख्नु पर्दैन ?
अब कर्पोरेट क्लाइन्टले चेक रिसिभ गर्न र पैसा जम्मा गर्नको लागि कर्मचारी राख्नु भने पर्दैन । कर्पोरेट ग्राहकले अफिसमा नै बसेर पेमेन्ट गर्न सक्छन् ।
कर्पोरेट पे मा अहिलेसम्म कति ग्राहक जोडिए ?
कर्पोरेट पे मा २५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । १२ वटा बैंक तथा वित्तीय संस्थाले कर्पोरेट पे संचालन नै भइसकेको छ । ती बैंक तथा वित्तीय संस्थाबाट १०० वटा कर्पोरेट ग्राहकले योजना प्रयोग गरिसकेका छन् । अहिले शुरुवाती चरणमा मात्र छ । अहिलेसम्म करिब ८ करोडको कारोबार कर्पोरेट पेबाट भइसकेको छ । मार्केट डिमाण्ड हेर्दा धेरै कर्पोरेट क्लाइन्टले खोजेको हुँदा यसमा आबद्ध हुन बैंकमा जिज्ञासा धेरै नै आएको छ ।
कर्पोरेट क्लाइन्ट कति पुर्याउने लक्ष्य छ ?
हाम्रो टार्गेट साना तथा मझौला व्यवसायिक संस्थान हुन् । बैंकमा जसले सबैभन्दा बढी चेक प्रयोग गर्छ त्यो ग्राहकलाई हामीले फोकस गर्न खोजेको हो । अहिले नै नम्बर नै यति भन्न नसकिएला । आगामी वर्षदेखि कर्पोरेट पेबाट मुख्य कारोबार हुने आशा छ ।