एनसीएचएलले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा, २० करोडसम्म भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ ।

बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई लक्षित गर्दै सो प्रणालीको शुरुवात गरेको हो । जससँगै ठूला ग्राहकले ‘कर्पोरेट पे’ सिस्टममार्फत् विद्युतीय भुक्तानी कारोबार गर्न सक्ने बताइएको छ ।

उक्त प्रणालीको औपचारीक सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।

कार्यक्रममा एनसीएचएलका अध्यक्षसमेत रहेका राष्ट्र कार्यकारी निर्देशक नरेश शाक्यले चेक बोकेर बैंकको शाखामा पुग्नु पर्ने बाध्यतालाई हटाउन एनसीएचएलले कर्पोरेट पे प्रणालीको सुरुवात गरेको बताए ।

‘वालेट र कनेट पाइपिएसको प्रयोग बढेपनि बैंकका ग्राहकहरु चेक बोकेर काउन्टरमा पुग्नु पर्ने वाध्यता आज पनि छ, त्यो बाध्यतालाई हटाउन कर्पोरेट पे प्रणाली उपलब्ध गराइएको हो,’ शाक्यले भने, ‘जसमा बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकहरुले समेत कर्पोरेट पे बाट कारोबार गर्न मिल्ने गरी एनसीएचएलमा आवद्ध बैंक तथा वित्तीय संस्थाको लागि थप च्यालनको रुपमा उपलब्ध गराइएको छ ।’

जसमा बैंक तथा वित्तीय संस्थाले व्यवसायीक ग्राहकलाई कर्पोरेट पेमा आवद्ध गराइ विभिन्न विद्युतीय कारोबारहरु गर्न सक्नेछन् भने कारोबारको राफसाफ एनसीएचएल आइपीएस र कनेक्ट आइपीएसबाट हुने व्यवस्था गरिएको शाक्यले जानकारी दिए ।

एनसीएचएलले गत आर्थिक वर्षमा ९ खर्ब ७० अर्ब रुपैयाँ बराबरको हिसाव किताब राफसाफ गरेको र चालु आवको ६ महिनामा ५ खर्ब ७ अर्ब रुपैयाँ बराबरको हिसाव किताब राफसाफ गरेको छ ।

कर्पोरेट पे जस्ता डिजिटले सिस्टमको प्रयोग बढ्दा बैंकको संचालन खर्च घट्ने र डिजिटल काराबोरको संख्या बढ्नुको साथै मुलुकको डिजिटल अर्थतन्त्रमा गुणस्तरीय डिजिटल कारोबार बढाउन मद्दत गर्ने एनसीएचएलका सीइओ निलेसमान सिंह प्रधानले बताए ।

साना तथा ठुला च्यालनहरु विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भइसके पनि बैंक तथा वित्तीय संस्थाका मध्यमस्तरका व्यवसायीक ग्राहकलाई बिल भुक्तानीको लागि समेत चेक काट्नु पर्ने समस्या रहेको र त्यसको समाधान कर्पोरेट पे ले गर्ने उनले जानकारी दिए ।

कुनै एक बैंकमार्फत् कर्पोरेट पे मा आवद्ध भइसकेपछि ग्राहकको अनुरोधमा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाता एउटै च्यालनमा लिंक गर्न सकिने सीइओ प्रधानले जानकारी दिए ।

राष्ट्र बैंक र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले हाल दिइरहेको अन्य विद्युतीय सेवा जस्तै कर्पोरेट पे पनि थप शुल्क नलिएर नै उपलब्ध गराइएको छ ।

कारोबार शुल्कसमेत एनसीएचएल आइपीएस र कनेट आइपीएसको विद्यमान शुल्क प्रणाली अनुसारै निर्धारण गरिएको छ । जसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब भुक्तानी, कर तथा राजश्व भुक्तानी लगाउयत अन्य ठुला भुक्तानीसमेत कर्पोरेट पे मार्फत् गर्न सकिने बताइएको छ । यसमा आवद्ध भएर १ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई कर्पोरेट प्रणालीमा आवद्ध भइ आफ्ना व्यवसायीक ग्राहकलाई प्रणालीबाट कारोबार गराउन एनसीएचएलले थप पहल गर्नेछ । साथै प्रणालीलाई थप विस्तार गर्ने बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता गरे ।

कर्पोरेट प्रणालीको शसरुवात पछि बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई चेक लिएर बैंकमा जानु पर्ने बाध्यता हट्नुको साथै डिजिटल भुक्तानीको विस्तारमा राष्ट्र बैंकले राखेको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने विश्वास राखिएको छ ।


पुष्प दुलाल