अब चेक काट्ने दिन सकिँदैछन्ः गभर्नर



काठमाडौं । विश्वमा चेकको क्लियरिङ हटिरहेका बेला नेपालमा पनि यसलाई हटाएर विद्युतीय बनाउनु पर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

उनले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को ‘कर्पोरेट पे’ को औपचारिक शुरुवात गर्दै सो कुरा बताए ।

एनसीएचएलका संस्थागत सञ्चालकसमेत रहेका गभर्नर अधिकारीले गभर्नरले विगतमा नगदको कारोबार कम गर्दै चेकको कारोबार बढाउन एनसीएचएलको स्थापना गरिएको बताए ।

‘संस्था स्थापनाको हामीसँग तितो अनुभव छ, त्यसबेला दैनिक ४/५ हजार चेकको कारोबार पनि हुँदैन थियो, अहिले यो बढेर ४० हजार पुगेको छ,’ उनले भने, ‘शुरुवाति चरणमा कर्यौ ब्यवधानहरु आए । नयाँ कुरा गर्न खोज्दाको अप्ठ्यारा र काम गर्न दिन नखोज्ने तत्वहरु जसमा बैंकहरु भित्रबाटै पनि प्रतिरोध आयो, हामीले त्यलाई चिर्नलाई निकै मेहनत गर्नु पर्यो ।’

त्यो बेला १० रुपैयाँको क्लियरिङ्ग शुल्क तिर्ने विषयमा समेत काममा अवरोध आएको तितो अनुभव उनले सुनाए ।

एनसीएचएलले शुरु गर्यो ‘कर्पोरेट पे’ सेवा, २० करोडसम्म भुक्तानी गर्न सकिने

तैपनि यसको सुरुवात गर्न सफल भएको स्मरण गरे । फलस्वरुप स्वरुप एनसीएचएलले आइपीएस र कनेक्ट आइपीएस, एनपीआई, आरटिजीएस हुँदै कर्पोरेट पे को नयाँ सुरुवात गर्न सफल भएको उनले सुनाए ।

कर्पोरेट पे को शुरुवातले हिँजोका दिनमा काटिने चेकको संख्या धेरै घटेर डिजिटल भुक्तानी बढाउने विश्वास गभर्नर अधिकारीको छ । साथै कर्पोरेट पेको माध्यमबाट विस्तार भइरहको डिजिटल हस्ताक्षर भविष्यमा अत्याधिक प्रयोगमा आउन सक्ने सम्भावना रहेको बताए ।

तर डिजिटल हस्ताक्षरमा आउनसक्ने सम्भावित अप्ठ्याराहरुलाई एनसिएचतएलले समयमै अध्ययन गरी समाधानको बाटो अपनाउनु पर्ने सुझाव दिए । साथै, मल्टिपल एकाउण्टलाई एकै च्यालनमा ल्याएर कारोबार गर्दा आउनसक्ने विभिन्न समस्याहरुको अवगत गराउँदै त्यसप्रति सचेत रहन उनले सुझाव दिए ।

यसैगरी, कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दहालले कर्पोरेट पेले गर्दा बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले अत्याधिक फाइदा लिन सक्ने भएपनि यसको शुल्कमा पुनरविचार गर्न आवश्यक रहेको बताए ।

‘कर्पोरेट पे को सुरुवात धेरै राम्रो छ तर यसमा शुरुमा कर्पोरेटहरुले केही शुल्क तिर्नु पर्ने हुँदा शुरुवातमा केही हिच्किचाहट जस्तो भएको छ, आजसम्म चेकबाट हुँदा निशुल्क नै भइरहेको छ,’ उनले भने, ‘शुरुवातमो केही असहजता भए पनि यसको शुरुवात सानिमा बैंकबाटै भएको हो यसमा विस्तारै सबै बैंकहरु जोडिने क्रममा छन् ।’

संघले डिजिटल च्यालनलाई प्रोत्साहन गर्ने कमिटि नै बनाएर अध्ययन तथा छलफल गरिरहेको र त्यसले डिजिटल भुक्तानीलाई थप विकास र विस्तारको लागि सम्भाव्यित विषयहरु खोज गर्ने जानकारी दिए । साथै, डिजिटल च्यालनको विकास र विस्तारको लागि बैंकहरुले एनसीएचलाई लगानीको कमी हुन नदिने आवश्यक सहयोग गर्न सदैव तयार हुने प्रतिवद्धता गरे ।

यस्तै, फाइनान्स कम्पनी एशोसिएशनका अध्यक्ष सरोजकाजी तुलाधरले डिजिटल इकोनोमी बढाउन एनसीएचएलले सुरु गरेको कर्पोरेट पे सिस्टम ठुलो ठूमिका खेल्ने बताए । उनले एनसीएचलले विद्युतिय भुक्तानी प्रणाली विकास र विस्तारमा राम्रो प्रगति गरेको भन्दै थप राम्रो प्रगती गर्न र सरक्षणको लागि भएपनि आफ्नै भवन स्थापना गरी संस्था सञ्चालन गर्न सुझाव दिए ।


पुष्प दुलाल