ब्याज आम्दानी घटे पनि नेपाल बंगलादेश बैंकको नाफा साढे १६ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा १६.५२ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १३ करोड ३४ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.०१ प्रतिशतले घटेको छ । बैंकले गत आवको पुस मसान्तमा १ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन चालु आवको सोही अवधिमा १० करोड ८७ लाख रुपैयाँले घटेर १ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ ।

कर्जा तथा सापटीमा ब्याजदरको परिवर्तनको कारणले ब्याज आम्दानी घटेको बैंकले उल्लेख गरेको छ । सो अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब १७ करोड रुपैयाँ छ । साथै चालु आवको पुस मसान्तसम्म बैंककोे वितरण योग्य नाफा भने ४६ करोड ७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन ५.५० प्रतिशत र कर्जा लगानीतर्फ ३.०८ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा ७० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

त्यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.४२ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा १.९२ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधीको यस्तो अनुपात २.३७ प्रतिशत पुगेको छ ।

साथै पुस मसान्तसम्म बैंकको आधारदर ८ प्रतिशत, स्प्रेडदर ४.१९ प्रतिशत र सीसीडी रेसियो ७१.३२ प्रतिशत रहेको छ ।

सो अवधिमा बैंकको कष्ट अफ फण्ड ५.८७ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ५० पैसा छ ।


क्लिकमान्डु