आरटीजीएस सिस्टम तथा मोड्युलर डाटा सेन्टर औपचारिकरुपमा हस्तान्तरण



काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोड्युलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय दातृनिकाय डीएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा गत भदौ २६ गतेदेखि आरटीजीएस राष्ट्र बैंकले सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैँकले सिस्टम तथा मोड्युलर डाटा सेन्टको औपचारिकरुपमा हस्तान्तरण कार्यक्रम माघ २ मा बैकको केन्द्रीय कार्यालय बालुवाटारमा सम्पन्न गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित बेलायती राजदुतावासका प्रतिनिधि रब क्लार्क ,यूके एड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीलगायतको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवातमा यूके एड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटीजीएस तथा मोड्युलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राखेका थिए ।

साथै, उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, कार्यक्रममा भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेलले आरटीजीएसमार्फत हुने कारोवारहरु हाल मासिक औसत १३ खर्ब रुपैयाँ बराबर रहेको जानकारी दिए । साथै, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनले बताए ।

नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटीजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गर्ने यूके एड सक्षम प्रति कँडेलले धन्यवाद व्यक्त गरे ।

त्यस्तै, कार्यक्रमको दास्रो सत्रमा आरटीजीएस हस्तान्तरण यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलबीच आरटीजीएसको हस्तान्तरण प्रमाणपत्र आदानप्रदान गरी भएको थियो ।

मोड्युलर डाटा सेन्टर हस्तान्तरण यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच मोड्युलर डाटा सेन्टर प्रमाणपत्र हस्तान्तरण आदानप्रदान भएको थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले आरटीजीएस तथा मोड्युलर डाटा सेन्टर हस्तान्तरण गरी लिने कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाईका साथै आगामी दिनहरुका लागि शुभकामना व्यक्त गरे ।

उनले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले बेलायत सरकार तथा यूकेका जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

साथै, यूके एड सक्षम एक्सेस टू फाइनान्स प्रोजेक्टले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दैै सो प्रोजेक्टले डुइङ बिजनेस इण्डेक्समा नेपालको तह बढाउन सहयोग गरेको उनले चर्चा गरेका थिए ।

मन्तव्यकै क्रममा गभर्नर अधिकारीले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत यूके एडबाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गरे ।


क्लिकमान्डु