कामना सेवाको साधारणसभा सम्पन्न, अर्को वर्ष राम्रो प्रतिफल दिने
काठमाडौं । कामना सेवा विकास बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी को ४.४० प्रतिशत बोनस सेयर दिने र त्यसमा लाग्ने करका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
यस्तै बैंकले आव २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरिएको छ ।
बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको जानकारी गराए ।
उनले कोभिडको प्रभाव कमहुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएकोले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा उल्लेख्य बृद्घि भएको बताए । उनका अनुसार कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभावका कारण आगामी वर्ष राम्रो प्रतिफल दिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको जानकारी गराए । उनले बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक, एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने बताए ।