बैंकबाट प्रवाहित ऋणको ब्याजदर औसतमा २.५६ प्रतिशतले घट्यो
काठमाडौं । के तपाईंले व्यापार व्यवसाय गर्न, घर गाडी किन्न वा अन्य कुनै प्रयोजनका लागि बैंकबाट ऋण लिनु भएको छ ? यदि छ भने तपाईंको ऋणमा अघिल्लो वर्षको तुलनामा ब्याजदर केही घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकबाट प्रवाहित भएको कर्जामा लाग्ने ब्याजदर अघिल्लो वर्षको तुलनामा औसतमा २.५६ प्रतिशतले घटेको छ । यो सबै बैंकको औसत तथ्यांको हो ।
चालु आवको मंसिर महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा ब्याजदर घटेको देखिएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरमा वाणिज्य बैंकहरुमा कर्जाको औसत ब्याजदर ९.३७ प्रतिशत छ । जबकी गत वर्षको सोही अवधिमा कर्जाको औसत ब्याजदर ११.९३ प्रतिशत थियो ।
बैंकहरुको आधारदर घटेसँगै ऋणको ब्याजदर पनि घटेको हो । गत वर्ष आर्थिक वर्षको मंसिर मसान्तमा वाणिज्य बैंकहरुको औसत बेसरेट ९.४६ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा २.१० प्रतिशतले घटेर ७.३६ प्रतिशत कायम भएको छ ।
त्यस्तै, २०७६ मंसिरमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर १.६४ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ०.६० प्रतिशत कायम भएको छ । साथै, वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ मंसिरमा ०.७८ प्रतिशत रहेकोमा २०७७ मंसिरमा ०.१० प्रतिशत कायम भएको छ ।
मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ मंसिरमा ०.१३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।