वैशाखमा चुनाव भए काँग्रेसले १२० सिट जित्ने, कति जित्ला ओली र माधव-प्रचण्डको नेकपाले ? (आँकलनसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई यतिबेला संविधानमाथिको ‘कु’ र अलोकतान्त्रिक भन्दै चर्को आलोचना भइरहेको छ । विभिन्न संवैधानिक कानूनका जानकार तथा अधिवक्ताहरुले ओलीको उक्त कदमलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

सर्वोच्च अदालतमा एउटा संवैधानिकसहित १३ वटा रिट दायर भएका छन् । जसलाई शुक्रबार बस्ने संवैधानिक इजालसमा पेश गरिनेछ ।

काठमाडौंमा मिनपचासको जाडोले तापक्रम घटाइरहँदा बढेको राजनीतिक तातोले धेरैका मथिङ्गल हल्लाइदिएको छ ।

प्रधानमन्त्री ओलीको संसद बिघटन गर्ने सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उसैगरी सदर गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुने मिति समेत सार्वजनिक गरिसकेकी छिन् ।

तोकिएको मतिमा चुनाव भयो भने सबैभन्दा बढी फाइदा आफ्नो पार्टीलाई हुने आँकलन गर्दै धेरैजसो काँग्रेस नेताहरु चुनावमा जाने मनस्थितिमा छन् । कांग्रेसले प्रत्यक्ष र समानुपाति गरी १२० देखि १३० सिट जित्ने आँकलन गर्न सकिन्छ । यो आँकलन कति तथ्यपरक छ भनेर विस्तृतरुपमा तल विश्लेषण गरिएको छ ।

तर, अर्कातिर केहीले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने दावी गरिरहेका छन् भने केहीले निर्वाचन हुने जिकिर गरिरहेका छन् ।

विशेषगरी प्रतिपक्षी दल नेपाली काँग्रेस निर्वाचनमा जाने कि नजाने भन्नेमा एकमत छैन । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले लोकतन्त्रमा निर्वाचन नै उत्तम विकल्प भएको बताउन थालेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा समेत उनीहरुले सोही धारणा राखिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने प्रधानमन्त्रीले संविधानभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रतिवादमा उत्रनुपर्ने पक्षमा मत राख्दै आएको छ ।

धेरैले भने संविधानको अपहरण गरिएको र अर्को शब्दमा ‘कू’ नै भएको तर्क पेश गरिरहेका छन् । निर्वाचनको मितिसमेत घोषणा भएको अवस्थामा आगामी दिनमा नेपाली राजनीति कसरी अगाडि बढ्ला भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

काँग्रेसले गैरसंवैधानिक विषयलाई राजनीतिक मुद्दा बनाएर निर्वाचनमा जाने निर्णय गर्न सक्छ । त्यसका पछाडि केही खास कारण छन् । झण्डै दुईतिहाई मत पाएको नेकपा दुई टुक्रामा विभक्त भएको छ । र, अझै चिरा पर्ने संभावना पनि छ ।

यदि यही परिस्थितिमा निर्वाजनमा जाने हो भने यसको सबैभन्दा बढी फाइदा काँग्रेसलाई नै हुने आँकलन गरिएको छ । विगतमा दास्रो र तेस्रो पार्टी मिलेकाले आफूहरुले कम मत पाएको र प्रतिपक्षमा सीमित हुनु परेको काँग्रेसको दुःखेसो छ । त्यसकारण पनि सो पार्टीले निर्वाचनमा जाने नै निर्णय गर्नसक्छ ।

नेपालको संविधानअनुसार देशभर प्रत्यक्षतर्फ कूल १६५ निर्वाचन क्षेत्र छ । त्यस्तै समानुपातिकतर्फ कूल ११० सिट छ । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा पहिलो स्थानमा रहेको तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । काँग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको थियो ।

यस्तै, एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट पाएको थियो । पार्टी एकता गरेको माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा १२ सिट पाएको थियो । यस आधारमा नेकपाको कूल १६९ सिट पाएको थियो ।

प्रमुख प्रतिपक्षी काँग्रेसले प्रत्यक्षतर्फ मात्रै २३ सिट जितेको थियो भने समानुपातिकमा ४० सिट जितेको थियो । यसरी हेर्दा काँग्रेसको कूल सिट संख्यामात्रै ६३ सिट थियो । यो तथ्यांकका आधारमा पनि आगामी निर्वाचनमा दुई टुक्रा भएको नेकपा एक आपसमा भिँड्दा सबैभन्दा बढी फाइदा काँग्रेसलाई नै हुने देखिन्छ ।

तराई केन्द्रीत दुई वटा दल समेत एक आपसमा मिलेका छन् । ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका कारण संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको छ । सो पार्टीको कूल २४ सिट रहेको थियो ।

कूल ५ दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएका थिए । तीमध्ये २ वटा पार्टी एक आपसमा मिलेका कारण ३ पार्टीमा सीमित भए । नेकपा फुटेको अवस्थामा अब राष्ट्रिय पार्टीको संख्या ४ पुगेको छ ।

काँग्रेस निर्वाचनमा यसकारण जान चाहन्छ

संविधान निर्माण भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा दुई वटा कम्युनिस्ट पार्टी मिलेका कारण प्रत्यक्षतर्फ काँग्रेसले मात्रै २३ स्थानमा जित निकालेर चित्त बुझाएको थियो ।

दुई पार्टी मिल्दा समेत ४२ स्थानमा झण्डै ४ हजार मत अन्तरले काँग्रेसपछि परेको थियो । यसपटक निर्वाचन भएको खण्डमा नेकपा दुई टुक्रामा विभाजन भएका कारण काँग्रेसलाई सोझै ४२ स्थानमा जित निकाल्न सक्नेछ ।

काँग्रेसका २०७४ मा जितेकामध्ये ५ स्थानमात्रै गुमाए पनि उसका लागि ४२ स्थान फाइदा हुन जान्छ । त्यो भनेको कूल ६० स्थानमा सहजै काँग्रेसले जित निकाल्न सक्छ ।

विगतमा जितेका स्थान नगुमेको अवस्थामा काँग्रेसले सोझै ६५ स्थानमा जित निकाल्न सक्ने सम्भावना छ । त्यसो हुँदा २०७४ कै अनुपातले काँग्रेसले समानुपातिकतर्फ मत पाएको अवस्थामा उसले थप ४० सिट सहजै जित निकाल्छ । त्यो भनेको काँग्रेसका लागि १०० सिट हो ।

नेकपा फुटेर दुई टुक्रा भएको अवस्थामा पनि काँग्रेसले समानुपातिक मत समेत बढी पाउने सम्भावना छ । किनकी नेकपाका कार्यकर्ता निराश हुने भएकाले आफना नेता हराइदिने र काँग्रेसले मत बढी पाउने अवस्था रहन्छ । विगतका निर्वाचनले पनि सोही तथ्य देखाएको छ ।

निर्वाचन घोषणा गरेका ओलीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ५० लाख मत ल्याउने दावी गरिरहँदा, त्यो दावी भने काँग्रेसका लागि हितकर हुने देखिन्छ । समानुपातिकतर्फ काँग्रेसले ४० लाख मत पाउँदा उसले सोझै ४२÷४३ सिट पाउँछ ।

यसरी हेर्दा काँग्रेस एक्लैले कही नगरेर पनि ११० सिटमा आफनो स्थान बनाउने देखिन्छ । उसलाई बहुमतका लागि मात्रै २८ सिट पुग्दैन । कूल बहुमतका लागि १३८ सिट आवश्यक पर्दछ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू ७ पटक प्रधानमन्त्री हुने योग भएको जस्ता तर्क पनि यसअघि रोचक बनेको थियो ।

के होला काठमाडौं उपत्यकाको अवस्था ?

काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन भएको जिल्ला हो काठमाडौं । कूल १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा २०७४ को निर्वाचनमा ४ सिट मात्रै काँग्रेसले जितेको थियो । काठमाडौं क्षेत्र नं १० मा राजन केसी र क्षेत्र नं ४ मा गगन थापा तथा काठमाडौं १ मा प्रकाशनमान सिंहले निर्वाचन जितेका थिए ।

त्यस्तै, काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी भएका थिए । कूल १० मध्ये ६ स्थानमा नेकपाले जित निकालेको थियो । निर्वाचन भएको खण्डमा काठमाडौंका १० मध्ये १० वटै निर्वाचन क्षेत्रमा काँग्रेसले क्लिन स्वीप गर्ने अवस्था छ ।
पार्टी फुटाएको भन्दै काठमाडौं क्षेत्र नं २ मा माधवकुमार नेपाललाई हराउन ओली पक्षका नेता तथा कार्यकर्ताले जोडबल गर्नेछन् ।

२०६४ सालमा तत्कालीन माओवादीका उम्मेदवार झक्कुप्रसाद सुवेदीले समेत नेकपा अध्यक्ष नेपाललाई हराइदिएका थिए । यस पटक यदि वैशाखमा निर्वाचन भएको खण्डमा नेपाललाई पुनः हराउन खेल खेलिनेछ । त्यसमा सबैभन्दा बढी जोडबल ओली पक्षका नेता तथा कार्यकर्ता नै लाग्नेछन् ।

काठमाडौं ५ बाट निर्वाचन जितेका ईश्वर पोखरेल यति प्रकरणदेखि सिसिएमसीमा बसेर गरेको गलत निर्णयका कारण आलोचित छन् । विगतमा पनि विवेकशिलका उम्मेदवार उज्जवल थापाले काँग्रेसको भोट काटेका कारण उनले जित निकालेको धेरैको विश्लेषण छ । पोखरेलले २३ हजार २९ मत ल्याउँदा काँग्रेसका उम्मेदवार डा प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । थापाले ६८५३ मत पाएका थिए । काँग्रेसले नरहरि आचार्य जस्ता नेतालाई सो क्षेत्रमा उम्मेदवार बनाएको अवस्थामा पोखरेलले नराम्रो हार खानुपर्नेछ ।

काठमाडौं ७ का रामवीर मानन्धरले नेता वामदेव गौतमलाई निर्वाचन क्षेत्र छाडिदिने बताएपछि उनको जनमत नराम्ररी खस्केको छ । त्यसो त, २०७४ को निर्वाचनमा सो क्षेत्रमा काँग्रेसले उम्मेदवार नै उठाएको थिएन । राप्रपालाई छाडेका कारण काँग्रेसले सोचेजति मत पाएको थिएन ।

काठमाडौं ८ मा जीवनराम श्रेष्ठले मात्रै ४४४ मतले जित निकालेका थिए । काँग्रेसका नविन्द्रराज जोशी नै उम्मेदवार भएको खण्डमा सो क्षेत्रमा सहजै जित निस्कने अवस्था छ । काठमाडौं ३ मा ओली पक्षका उम्मेदवार कृष्ण राईका लागि समेत आगामी निर्वाचन फलामको चिउरा चपाए सरह नै हुने देखिन्छ ।

त्यसकारण काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये १० वटै काँग्रेसका लागि अनुकूल बनेको छ । यसो भएको अवस्थामा काँग्रेसको कूल सिट संख्या बढेर १२६ पुग्नेछ ।

त्यस्तै, लतिलपुरका ३ वटै सिट आगामी निर्वाचनमा काँग्रेसका लागि अनुकूल बन्नेछ । ललितपुर १ मा नवराज सिलवाले २६ हजार ९५१  मत ल्याउँदा काँग्रेसका उदय शमशेरले २० हजार ७२९ मत पाएका थिए ।

२०७० मा पनि राणाले जितेकाले आगामी निर्वाचनमा पनि उनको जित निस्कने अवस्था रहन्छ । क्षेत्र नं २ र ३ मा समेत नेकपाको मत बाँडिदा त्यसको फाइदा काँग्रेसलाई हुनेछ ।

भक्तपुरका २ वटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्र मजदुुर किसान पार्टीको गढ भएकाले अरुले जित निकाल्ने सम्भावना कम रहन्छ । क्षेत्र नं २ मा भने महेश बस्नेत आफै अलोकप्रिय भएकाले उनले जित्न मुस्किल पर्नेछ । सांसद अपरहण काण्डदेखि अनेकन लफडामा फसेकाले बस्नेतका लागि पनि आगामी निर्वाचन फलामको च्यूरा चपाए सरह नै हुने देखिन्छ ।

धदिङ –काठमाडौँ उपत्यकासँग सीमा जोडिएको धादिङमा २ सिट छ । त्यसमा क्षेत्र नं १ मा प्रचण्ड माधव नेपाल पक्षको राम्रो भएको र काँग्रेसका गतिला नेता नभएकाले सो क्षेत्र प्रतिकूल रहन सक्छ । सो क्षेत्रमा नेकपाको जित हुन सक्ने देखिन्छ ।

तर, क्षेत्र नं २ मा भने काँग्रेसले सहजै जित निकाल्न सक्छ । किनकी, २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीले ३६ हजार २५६ मत ल्याउँदा काँग्रेसका दीलमान पाख्रिनले ३५ हजार ६१६ मत पाएका थिए । उनीहरुको मत अन्तर मात्रै ६४० रहेको थियो ।

नुवाकोटः नुवाकोटमा २ निर्वाचन क्षेत्र छ । सो जिल्लामा काँग्रेसले उम्मेदवार छनौटमा ध्यान दिएको खण्डमा २ वटै सिटमा जित निकाल्न सक्छ । नुवाकोट १ मा माओवादीका हितबहादुर तामाङले ३६ हजार ४७३ मत पाउँदा काँग्रेसका नेता डा रामशरण महतले २७ हजार ९२० मत पाएका थिए ।

तीन पटकको प्रयासमा तामाङले जित निकालेका कारण यस पटक पार्टी फुटेको असर त्यहाँ पर्ने देखिन्छ । यस्तै क्षेत्र नं २ मा फेरी पनि सांसद बन्ने सौभाग्य अर्जुननरसिंह केसीलाई प्राप्त हुने सम्भवना रहन्छ । नेकपाका तर्फबाट तामाङ समुदायको उम्मेदवार बनाइए केसीलाई केही समस्या भने पर्ने देखिन्छ । रसुवामा काँग्रेसका सांसद मोहन आचार्यका लागि पुनः मैदान खाली हुने अवस्था रहन्छ ।

एउटा निर्वाचन क्षेत्र भएका ३५ वटा जिल्लामा के छ अवस्था ?

पछिल्लो विन्याश अनुसार १ वटामात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको संख्या ३५ रहेको छ । त्यस मध्ये २०७४ को निर्वाचनमा रसुवामा काँग्रेसका आचार्यले जित निकालेका थिए ।

प्यूठानमा जनमोर्चाको दुर्गा पौडेल र हुम्लामा स्वतन्त्रबाट छक्कबहादुर लामाले जित निकालेका थिए । लामा स्वतन्त्र भएपनि नेकपाकै नेता थिए । सोही कारण ३३ स्थानमा नेकपाको जित देखिएको थियो ।

२०७४ कै मतका आधारमा हेर्दा नेकपाको मत विभाजन हुँदा संखुवासभा सोझै काँग्रेसको पोल्टामा पर्नेछ । किनकी तत्कालीन एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतम र काँग्रेस उम्मेदवार दीपक खड्काको मत अन्तर मात्रै १ हजार १३० रहेको थियो ।

तेह्रथुम पनि काँग्रेसको पोल्टामा पर्नेछ । एमालेका उम्मेदवार भवानीप्रसाद खापुङ र काँग्रेस उम्मेदवार सीता गुरुङको मत अन्तर असाध्यै कम थियो । खापुङले २१ हजार ३३५ मत ल्याउँदा गुरुङले १९ हजार ३१४ मत पाएकी थिइन । मत अन्तर मात्रै २०२१ थियो ।

धनकुटा समेत काँग्रेसका लागि अनुकूल देखिएको छ । राप्रपाका नेता सुनिल थापा काँग्रेस प्रवेश गरेको, काँग्रेस र राप्रपाको संगठन समेत राम्रो भएकाले यस पटक काँग्रेसले सो जिल्लामा जित निकाल्ने सम्भावना बढी रहन्छ । ताप्जेजुङ निर्वतमान संस्कृति मन्त्री योगेशकुमार भट्टराईको निर्वाचन क्षेत्र भएपनि उनलाई हराउन ओली पक्षका सबै लाग्ने भएकाले त्यसको फाइदा काँग्रेसलाई हुने देखिन्छ ।

पाँचथर ओली समूहका नेता एवम् भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङको क्षेत्र हो । ताप्जेजुङमा भट्टराईलाई हराउन ओली पक्ष लाग्ने भएपछि पाँचथरमा नेम्वाङ विरुद्ध जनमत बनाउन माधव–प्रचण्ड पक्ष पनि लाग्नु स्वभाविक नै हुन्छ ।

इलाममा झलनाथ खनालको मत अन्तर बढी भएकाले उनलाई सहज हुनसक्छ । तर ओली पक्षमा खास नेता सुवास नेम्वाङ इलाम २ मा हुने भएकाले एक अर्कालाई अराउन लाग्ने भएकाले इलाममा धेरै पछि काँग्रेसले विजयको झण्डा गाड्न सक्छ । खनाल र नेम्वाङ एक अर्कालाई हराउन नलागेको खण्डमा सो जिल्ला काँग्रेसका लागि फेरि पनि अंगुर अमिलो बन्न सक्छ ।

सोलुखुम्बु: १ निर्वाचन क्षेत्र भएको सोलुमा माओवादी र काँग्रेसका उम्मेदवारबीच मात्रै ३ हजार ४५३ मत अन्तर रहेको थियो । नेकपा दुई गुटमा विभक्त भएपछि काँग्रेसका बलबहादुर केसी पुनः माननीय बन्ने सम्भावना रहन सक्ने विश्लेषण गरिएको छ । भोजपुर ओली पक्षका नेता एवम् प्रदेश नं १ मुख्यमन्त्रीको समेत जिल्ला भएकाले त्यहाँ नेकपा एक आपसमा जुध्नेछन् । पूर्व माओवादीको समेत राम्रो प्रभाव भएकाले उनीहरु एक आपसमा जुध्दा काँग्रेसलाई सो जिल्ला चिट्ठा पर्ने सम्भावना रहन्छ ।

ओखलढुंगाबाट रामहरि खतिवडा पुनः माननीय बन्ने सम्भावाना बढी छ । नेकपाबाट निर्वाचित यज्ञराज सुनुवारलाई हराउन ओली समूह लाग्ने भएकाले खतिवडा २०७० पछि २०७८ मा पुनः सांसद बन्ने सम्भवना बढी छ ।

दोलखामा २०७४ को निर्वाचनमा ५५ हजार ४५७ मत ल्याएका ओली पक्षका पार्वत गुरुङलाई हराउन माधव प्रचण्ड समूहका देवी खड्का, विशाल खड्का, गंगा कार्कीलगायत सबै लाग्नेछन् । पूर्व माओवादीको प्रभव रहेको तथा ओली पक्षका पार्वत, आनन्द पोखरेललगायतका नेता समेत रहेकाले सो जिल्लामा काँग्रेसले राम्रो उम्मेदवार दिए, सहजै जित निस्कन सक्छ । रामेछाप पूर्व माओवादीको राम्रो प्रभाव भएको तथा ओली समूहको खासै नेता नभएकाले पनि सो जिल्लामा माधव प्रचण्ड समूहले जित निकाल्न सक्छ ।

मनाङमा जसले पैसा खर्च गर्न सक्यो, यसैले जित निकाल्ने अवस्था रहन्छ । किनकी, जनसंख्या समेत कम रहेकाले मनाङको नतिजा अनुमान गर्न गाह्रो छ । लमजुङ ओलीका खास मान्छे एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको समेत क्षेत्र हो ।

यस्तै माधव प्रचण्ड समूहका नेता देवप्रसाद गुरुङ समेत सोही जिल्लाका नेता हुन् । काँग्रेसका दीलबहादुर घर्ती भन्दा ८ हजार ४०१ मत बढी ल्याएका गुरुङलाई हराउन ओली समूह लाग्नेछ । मुस्ताङ, पर्वत समेत काँग्रेसको पोल्टामा जान सक्छ ।

रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान जस्ता जिल्लामा भने प्रचण्ड माधव पक्षले जित निकाल्न सक्छ । यस्तै, जाजरकोट, कालिकोट, जुम्ला समेत उनीहरुका लागि सहज रहेको छ । प्यूठान जनमोर्चालाई छाडेको अवस्थामा बाग्लुङको नतिजा समेत उनीहरुको पक्षम पर्न सक्छ । बाग्लुङमा २ निर्वाचन क्षेत्र छ । बाजुरा, डोटी, बझाङ, दार्चुला,बैतडी समेत काँग्रेसको पोल्टामा पर्न सक्छ । डडेल्धुरा काँग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र भएकाले पनि उनलाई सहज नै छ ।

अछाम प्रचण्ड माधव समूहका नेता भीमबहादुर रावललाई सहज भएपनि अर्को निर्वाचन क्षेत्रमा काँग्रेसले झण्डा गाड्न सक्छ ।

यस पटक ३ निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा नजिता काँग्रेसको पक्षमा आउन सक्छ । रमेश लेखक, एनपी साउद जस्ता नेता काँग्रेसमा छन् ।

कैलालीका कूल ५ निर्वाचन क्षेत्र मध्ये थारु बहुल रहेको एक क्षेत्रमा प्रचण्ड माधव पक्षलाई सहज हुनेछ भने अन्य क्षेत्रमा काँग्रेसका लागि सहज हुनेछ । माओवादीबाट चुनाव जितेका लेखराज भट्ट ओली समूहमा लागेका छन् । यस्तै क्षेत्र नं २ का झपटबहादुर रावल माधव प्रचण्ड समूहमा छन् । रेशम चौधरी, रामजनम चौधरी लगायतका नेता तथा राजपाको समेत राम्रो प्रभाव भएकाले एक आपसमा तालमेल गरे कूल ५ मध्ये ४ सिट उनीहरुका लागि अनुकूल हुनसक्छ ।

प्रदेश नं २: सो प्रदेशमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, बारा, पर्सा रौतहट , महोत्तरी गरी कूल ८ जिल्ला छन् ।

सप्तरीमा दुई पार्टी मिल्दा समेत नेकपाले कूल ४ सिट नै गुमाएको थियो । सो जिल्लामा पुनः अवस्था त्यस्तै रहन सक्छ । सिराहाका कूल ४ सिटमध्ये २०७४ मा २ सिट जितेको थियो ।

धनुषाका कूल ४ सिटमध्ये २ पार्टी मिल्दा २ सिटमा चित्त बुझाएको नेकपा यतिखेर दुई टुक्रामा विभक्त भएकाले उनीहरुका लागि सहज हुने सम्भवना कम छ । महोत्तरीका कूल ४ सिटमध्ये गिरिराजमणि पोखरेलको क्षेत्र छाडेर अन्य ३ क्षेत्र जनता समाजवादी पार्टीका लागि अनूकल रहन सक्छ ।

सर्लाहीको कूल ४ सिटमध्ये १ सिट मात्रै जितेको नेकपाले निर्वाचन भएको अवस्थामा ४ वटै सिट गुमाउन सक्छ । नेकपाको जनाधार भएको क्षेत्रमा दुई पक्षमा विभक्त हुँदा त्यसको फाइदा काँग्रेस र तराई केन्द्रित दललाई हुने देखिन्छ ।

रौतटहका कूल ४ क्षेत्रमध्ये प्रभु साहको एक क्षेत्र छाडदा बाँकी रहको ३ क्षेत्रमध्ये २ क्षेत्र मधेशवादी दल र एक क्षेत्र पुनः काँग्रेसले जित्ने अवस्था रहन्छ । दुई पार्टी मिल्दा समेत नेकपाले जित्न नसकेको बारा, पर्सा पुनः काँग्रेस र मधेशवादीको पोल्टामा जान सक्छ । ती जिल्लामा कूल ८ सिट छ ।

नवलपुर र नवलपरासीका कूल ४ सिट नै काँग्रेसले जित निकाल्न सक्छ । नवलपरासी बर्दघाट पूर्वको १ मा काँग्रेस महामन्त्री संशाक कोइरालाको निर्वाचन क्षेत्र हो । उनले दुई पार्टी मिल्दा नै कूल ४० हजार ६२० मत ल्याएका थिए । सोही जिल्लाको अर्को निर्वाचन क्षेत्रमा नेकपा र काँग्रेस उम्मेदवारको मतान्तर मात्रै १ हजार ३३३ रहेको थियो ।

नवलपरासी बर्दघाट पश्चिम १ मा तराई केन्द्रित दल र नेकपा मिल्दा जित निकालेका हृदयेश त्रिपाठीले कस्तो ‘मुभ’ गर्छन सोही आधारमा सो क्षेत्रको नतिजा निस्कनेछ । यस्तै, सोही जिल्लाको अर्को निर्वाचन क्षेत्रमा काँग्रेसका देवेन्द्रराज कँडेलका लागि सहज जित पुनः पनि निस्कनेछ । नवलपरासीको कुनै एक क्षेत्रमा अर्बपति व्यववसायी विनोद चौधरीले समेत उमेदवारी दिने तयारी गरेकाले नजिकका क्षेत्रमा केही प्रभाव पर्नेछ ।

रुपन्देहीका कूल ६ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा नेकपाले जित्दा २ क्षेत्रमा  काँग्रेस  जितेको थियो । लुम्बिनी प्रदेशको राजधानीसँग मन्त्री पद साटेको आरोप लागेका विष्णुपप्रसाद पौडेललाई सगठनको कारण केही सहज भएपनि अन्यका लागि भने अवस्था नकारात्मक रहेको छ । घनश्याम भुसाल, छवीलाल विकलाई हराउन एक अर्का नै लाग्नेभएकाले सो जिल्ला नेकपाका दुबै समूहका लागि अनुकूल छैन ।

कपिलवस्तुको ३ वटै निर्वाचन क्षेत्रमा मधेशवादी र काँग्रेसले जित निकाल्न सक्छ । माओवादीका चक्रपाणी खनाल काम गर्न नसकेको भन्दै ओलीले गलहत्याएका थिए भने मधेश केन्द्रित दलका भएपनि सूर्य चिन्हबाट निर्वाचन जितेका वुजेशकुमार गुप्ताका लागि केही सहज हुन सक्छ । तर उनको मुभ कस्तो रहने छ भन्ने कुराले नतिजा प्रभावित पार्नेछ । यस्तै क्षेत्र नं ३ मा अभिषेकप्रताप साहले पुनः काँग्रेसको झण्डा फहराउनेछन् ।

एक निर्वाचन क्षेत्र भएको अर्घाखाँचीमा लगातार ३ पटक चुनाव जितेका टोपबहादुर रायमाझी ओली समूहमा लागेका छन् । विगतमा २ निर्वाचन क्षेत्र भएपनि २०७४ देखि एक निर्वाचन क्षेत्र कायम भएको सो जिल्लामा प्रचण्ड-माधव समूह र ओली समूहबीच विवाद हुँदा त्यसको फाइदा काँग्रेसलाई हुनसक्छ ।

यस्तै दुई निर्वाचन क्षेत्र भएको पाल्पाका दुर्व नेकपा सांसद प्रचण्ड माधव समूहमा लागेका छन् । नयाँ र पुरानो पुस्ताको विवाद रहेका कारण सो जिल्लाको नतिजामा समेत काँग्रेसको पल्लाभारी हुन सक्छ । बाग्लुङमा जनमोर्चाको मत समेत निर्णायक भएकाले प्रचण्ड-माधव समूह वा ओली समूह कसले उसलाई प्रभाव पार्छ सोही आधारमा नतिजा तलमाथि हुन सक्छ ।

कूल ३ निर्वाचन क्षेत्र भएको दाङ, बाँके तथा २ निर्वाचन क्षेत्र भएको दैलेख र अछामको नतिजामा समेत आकाश जमिनको फरक पर्न सक्छ । बाँकेमा इतिस्याक राइ छन् भने दाङमा ओली पक्षका शंकर पोखरेल छन् । यस्तै यौन उत्पिडनको आरोप लागेका कृष्णबहादुर महरा तथा काँग्रेस नेता खुमबहादुर खड्काको विचार बोक्न दीपक गिरी समेत दाङमा छन् ।

एक अर्कालाई हराउन नेकपाका दुवै समूह लाग्ने भएकाले कूल ६ निर्वाचन क्षेत्रमध्ये ४ निर्वाचन क्षेत्र काँग्रेसको पोल्टामा जाँदा १-१ निर्वाचन क्षेत्र भने मधेशवादी र नेकपाले बाँडन सक्छन् ।

बर्दियामा दुई पार्टी मिल समेत वामदेव गौतमलाई हराइएको थियो । त्यसकारण काँग्रेस उम्मेदवार सञ्जय गौतम पुनः जित निकाल्नेछन् भने अर्को क्षेत्रमा पूर्व माओवादीको राम्रो प्रभाव रहेको र उम्मेदवार राम्रो पाएको खण्डमा प्रचण्ड माधव समूहले जित निकाल्न सक्छ ।

झापाः कूल ५ निर्वाचन क्षेत्र भएको झापामा केपी ओलीले राप्रपाका राजेन्द्र लिङदेनसँग साटफेर गरेर निर्वाचन जितेका थिए, २०७४ मा । राप्रपाको समेत राम्रो प्रभाव भएको झापाका कूल ५ क्षेत्रमध्ये अनेक गरेर ओलीले क्षेत्र नं ५ बाट पुनः निर्वाचन जित्न सक्छन् । अन्य ४ क्षेत्रमध्ये क्षेत्र नं १ मा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी वैशाखमा चुनाव भए जित निकालन सक्छन् । २०७४ को निर्वाचनमा माओवादीका सुरेन्द्र कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए । उनीहरुको मत अन्तर मात्रै २ हजार ८६३ मात्रै रहेको थियो ।

ओलीको समर्थनमा झापा ३ मा राजेन्द्र लिङदेनले ४४ हजार ६१४ मत ल्याएका थिए भने काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । दुई नेकपा भिडेको खण्डमा झापाको नजिता २०७४ को भन्दा फरक आउनसक्छ ।

मोरङ: कूल ६ निर्वाचन क्षेत्र भएको मोरङको क्षेत्र नं ५ एमाले र माओवादी फरक फरक पार्टी हुँदा समेत माओवादीका शिवकुमार मण्डलले जितेका कारण सो क्षेत्रलाई छाड्दा अन्य ५ निर्वाचन क्षेत्रमा नै काँग्रेसका लागि सहज देखिन्छ ।

स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकालले काँग्रेसका उम्मेदवार सुनिल शर्मासँग झिनो मतअन्तरले २०७४ मा जित निकालेका थिए । स्वास्थ्य सामग्री खरिदमा चरम भ्रष्टाचार गरेको आरोप लागेको ढकाललाई मतदाताले भ्रष्टाचारी भनिदिने अवस्था छ । धेरै स्वाङ पारेके भन्दै लालबाबु पण्डित प्रति मोरङ ६ का जनता आजित भएका छन् । त्यसकारण शेखर कोइरालाका लागि आगामी निर्वाचन विजयको झण्डा गाड्ने अवसर बन्न सक्ने भएको छ । २०७४ को निर्वाचनमा समेत उनीहरुको मत अन्तर मात्रै ६४८ रहेको थियो । डा मिनेन्द्र रिजाल, महेश आचार्यले समेत जित निकाल्ने अवस्था रहेको मोरङमा चर्चा हुन थालेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा ओली समूहको राम्रा नेता नभए पनि क्षेत्र नं १ मा व्यक्तित्वका कारण डा. नारायण खड्का पुनः काँग्रेसका लागि निर्विकल्प उम्मेदवार हुन् । दुई पार्टी मिल्दा समेत जितेका उनले पुनः जितको झण्डा गाड्न सक्छन् । यस्तै क्षेत्र नं २ मा भने ओली समूह कमजोर रहेका कारण प्रचण्ड माधव समूहलाई अनुकूल रहन सक्छ ।

चितवनः यस्तै ३ निर्वाचन क्षेत्र रहेको चितवन क्षेत्र नं १ मा नेकपा भित्र बौद्धिक नेताको छवी बनाएका सुरेन्द्र पाण्डे माधव प्रचण्ड समूहमा छन् । यस्तै क्षेत्र नं २ का कृष्णभक्त पोखरेल समेत सोही समूहमा छन् ।

सोही समूहका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ३ मा २०७४ को निर्वाचनमा काँग्रेसले उम्मेदवार उठाएको थिएन । क्षेत्र नं १ मा पाण्डे र काँग्रेस उम्मेदवारबीचको मतान्तर १५ हजार ७२० रहेको थियो । पाण्डेको व्यक्तित्व राम्रो भएपनि ओली समूहको अवरोधमा परिसकेका पाण्डेलाई जित निकाल्न गाह्रो पर्नेछ ।

यस्तै, निर्वाचन क्षेत्र नं ३ मा प्रचण्डलाई हराउन ओली समूह प्रमुखरुमपा लाग्ने नै छ । काँग्रेसले उम्मेदवार नदिँदा समेत राप्रपाका पाण्डेसँग प्रचण्डको मतान्तर मात्रै ९ हजार ३४१ मत्रै थियो । यस्तै क्षेत्र नं २ मा पोखरेल र काँग्रेस उम्मेदवार शेषनाथ अधिकारीबीच १७ हजार ३५६ को मतान्तर थियो ।

चुनाव होला त ?

तथ्यहरुले यस्तो बताइरहेको बेला प्रधानमन्त्री ओलीले घोषणा गरेको मिति वैशाख १७ र २७ मा निर्वाचन होला त ? आम मानिसका बीचमा यही आशंका रहेको छ । धेरैले निर्वाचन हुने कुरालाई पत्याएका छैनन् ।

काँग्रेस नेता गगन थापाले त केही दिन पहिले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै ओलीले आफू हार्ने चुनाव नगराउने बताएका छन् । किनकी, सामान्य हिसाबमा पनि काँग्रेसको सहजै बहुमत आउने अवस्था रहेको छ । बहुमत नआए पनि काँग्रेस ठूलो पार्टी बन्ने छ ।

तयस्तै तराईका कूल ८१ सिटमध्ये मधेशवादी दल र काँग्रेसको पोल्टामा नै अधिकांश सिट जाने भएकाले ओली सहजै निर्वाचन गराउने पक्षमा रहने छैनन् । अझ जसपा र कांग्रेसले एलाइन्स गरे भने तराईमा नेकपालाई प्रत्यक्षमा २÷२ सिट ल्याउन पनि हम्मेहम्मे पर्ने देखिन्छ ।

यस्तै मतपरिणमको अनुमान गर्दै ओलीको अपहरणमा परेको संविधान, लोकतन्त्र र संसदीय व्यवस्थालाई उद्दार गर्न लाग्नुको साटो धेरै कांग्रेस नेताहरु चुनावमा जाने मनस्थितिमा छन् ।

(यो आंकलन २०७४ को आम निर्वाचनको मत परिणामका आधारमा तयार गरिएको हो । अब चुनाव हुँदा लाखौं नयाँ मतदाता थपिने हुनाले र राजनीति यस्तै रहेन भने यो आँकलन केही तलमाथि हुनसक्छ ।)


पुष्प दुलाल