३ दिनमा ३ लाख ६७ हजार जरिवाना



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ दिनमा ३ लाख ६७ हजार जरिवाना गरेको छ । विभागले दैनिकरुपमा गर्दै आएको बजार अनुगमनबाट सो जरिवाना गरेको हो ।

विभागले हरेक दिन करिब ६÷७ जना व्यवसायीलाई सरकारले तोकेको ऐन विपरीत व्यापार गर्दै आएकाले कारावाहीको दायरामा ल्याई जरिवाना गर्दै आएका छन् । साथै, म्याद गुजे्रको र खाना अयोग्य खाद्यान्नलाई तत्काल नष्ट गर्न लगाउने कार्य गर्दै आएका छन् ।

यस्तै, आइतबार विभागले १३ व्यवसायीमा अनुगमन गर्दा दुई व्यवसायीलाई कारबाही दायरामा १५ हजार जरिवाना गरेको छ । साथै, एकजना व्यवसायीलाई भने २८ हजार ८ सय ९५ रुपैयाँ बराबरको खाना अयोग्य वा म्याद सकिएकोले तत्काल नष्ट गर्न लगाएको छ ।

त्यसैगरी सोमबार एकैदिन २ लाख १७ हजार जरिवाना गरेको छ । उक्त दिनमा १६ वटा स्टोरमा अनुगमन गर्दा ४ व्यवसायीलाई कारबाहीको दायरमा ल्याएको छ । जसमा रामेश्वर ट्रेडर्सलाई भने २ लाख जरिवाना गरेको छ ।

व्यवसायीले वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचान, बनावट आदि ढाँटी वा झुक्याई वस्तु बिक्री गर्ने कसुरमा २ लाख रुपैयाँ जरिवाना गरेको विभागको तथ्याङ्कले देखाउँदछ । सोही दिन दुई व्यवसायीको स्टोरबाट १७ हजार २४० रुपैयाँ बराबरको खाद्य नष्ट गर्न लगाएको छ । नष्ट गर्न लगाइएकोमा दुईवटै खाद्यान्न स्टोर रहेको छ ।

विभागले हरेक दिन भिन्न भिन्न तरिकाले अनुगमन गर्दै आएका छन् । जसमा आज (आइतबार) रेडिमेड कपडा र फर्निचर र फर्निसिङ्गलाई लक्षित अनुगमन गरी १० जना व्यवसायीलाई कारबाही गरेका छन् । उक्त व्यवसायीलाई कारबाहीको दायरमा ल्याई विभागले १ लाख ३५ हजार जरिवाना गरेको छ । आज विभागले १९ वटा स्टोर अनुगमन गरेको थियो ।


क्लिकमान्डु