कर्जाको माग नबढेपछि बैंकहरुको ध्यान सस्तो निक्षेपमा, साढे ४१ प्रतिशतले बढ्यो ‘कासा’



काठमाडौं । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा बैंकहरुको ध्यान सस्तो निक्षेपमा बढेको छ । मुद्दति खाताको लागत बढ्दै गएपछि बैंकहरुको चालु र बचत खाताको हिस्सा (कासा) ४१.४६ प्रतिशतले बढेको हो ।

मुद्दति खातमा जम्मा गरिएको निक्षेपको ब्याजदर चालु वा बचत खाताको तुलनामा बढी र स्थिर हुन्छ । लागत बैंकहरुलाई बढी पर्ने भएकाले मुद्दतिको हिस्सा बढी अर्थात् कासाको हिस्सा कम भएको बैंकहरुको लागत बढी हुन्छ । सोही कारण ती बैंकहरुले कर्जामा कायम गर्ने आधार दर समेत धेरै हुन्छ ।

गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुमा ३५ खर्ब ८ अर्ब २६ करोड रुपैयाँ कुल निक्षेप थियो । जसको ४० प्रतिशत अर्थात् १४ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ कासाको हिस्सा रहेको थियो ।

बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार ३ महिना अर्थात् मंसिर मसान्तसम्म बैंकहरुमा कासाको १ खर्ब ३ अर्ब ९३ करोड रुपैयाँले बढेर १५ खर्ब १२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकहरुको कुल निक्षेप ३६ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

बैंकहरुमा हाल चालु तथा बचतको औषत ब्याजदर ३ प्रतिशतसम्म छ भने मुद्दतिको ब्याजदर औषतमा ७ प्रतिशतसम्म छ ।

कुल निक्षेपमा सस्तो निक्षेपको हिस्सा १ खर्ब रुपैयाँले बढ्दा मुद्दति निक्षेपका भने ३ महिनामा ७६ अर्ब ४३ करोड रुपैयाँले मात्र बढेको छ ।

गत भदौ मसान्तसम्म बैंकहरुमा कुल निक्षेपमा ४८.२० प्रतिशत अर्थात् १६ खर्ब ९१ अर्ब ९ करोड रुपैयाँ थियो । मंसिर मसान्तसम्म १६ खर्ब ९१ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जुन कुल निक्षेपमा मुद्दतिको हिस्सा ४८ प्रतिशतमात्र हो ।

के हो कासा ?

सामान्यतया चालु खाता र बचत खाताबीचको मिश्रण अनुपातलाई (कासा) भनिन्छ । एक ब्यक्तिबाट बचतकर्ताले ब्याज प्राप्त गर्ने गरी खोलीएको खाता बचत खाता हो भने एक संस्था तथा कम्पनीले कुनै पनि प्रकारको ब्याज नपाउने गरि खोलिएको खाता चालु वा चल्ती खाता हो ।

कासा अनुपात भन्नाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बचत तथा चालु खातामा रहेको जम्मा निक्षेप कति हिस्सा छ भन्ने अनुपातलाई जनाउँछ ।

लामो समयसम्म कर्जा प्रवाहको क्षमता कासाले घटाउने

बचत र चालु खातामा पैसा बढी हुने बैंकहरुको कोष लागत (कस्ट अफ फन्ड) सस्तो पर्छ । यस्तो निक्षेप बढी हुने बैंकले तुलनात्मक रूपमा सस्तो ब्याजमा ऋण दिन सक्ने बैंकरहरु बताउँछन् ।

तर बैंकहरुमा कम लागत ‘कासा’ को पैसा बढ्नु भनेको लामो समयसम्मको लगानीको क्षमता घट्नु नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोख्ररेलले बताए ।

‘चालु र बचत खाताको निक्षेप स्थिर हुँदैन,’ पोख्ररेलले क्लिकमाण्डूसँग भने, ‘यी खाताको निक्षेप हिस्सा बढी भएका बैंकहरुको ब्याज लागत कम भएपनि लामो समय सम्मको लगानीको क्षमता भने यस्ता स्रोतबाट कम हुन्छ ।’

राष्ट्र बैंकले कुल निक्षेपमा कासाको हिस्सा कति भनेर नतोकेको भएपनि बैंकहरुले सकेसम्म स्थिर लगानी बढाउन चालु र बचतमा भन्दा मुद्दति खातालाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ छ ।

कासा डिपोजिट धेरै भएको बैंकमा ग्राहकको आर्कषण बढी

तर बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भने कासा डिपोजिट धेरै भएको बैंक बलियो बैंक भएको विश्लेषण गर्छन् ।

कासा डिपोजिट धेरै भएको बैंकको लागत थोरै हुने हुँदा बेसरेट समेत कम हुने भएकाले ग्राहकको आर्कषणमा त्यो बैंक पर्ने अध्यक्ष दाहालको भनाइ ।

‘कासा डिपोजिट बढी भएको बैंकको कष्ट कम हुन्छ, चालु खातामा ब्याजदर नै हुँदैन भने बचतको ब्याजदर न्यून हुन्छ’ उनले क्लिकमाण्डूसँग भने, ‘लागत कम भएपछि त्यो बैंकको बेसरेट कम हुन्छ र राम्रो कर्जा प्रवाह गर्न सक्छन् ।’

ग्राहकको पहिलो रोजाइमा पर्ने भनेकै बेसरेट कम भएका बैंकहरु हुने उनले बताए । मुख्यतय बेसरेटमा डिपोजिटको लागत, खर्च जोडिने हुँदा कासा डिपोजिटले बैंकको निक्षेप लागत घटाउन मद्दत गर्ने उनको भनाइ छ ।

कुन बैंकमा कासाको हिस्सा कति ?

संघको तथ्यांकअनुसार सो अवधिमा सबैभन्दा बढी कासा राष्ट्रिय वाणिज्य बैंकमा ७१ प्रतिशत छ भने सबैभन्दा थोरै सिभिल बैंकमा २४ प्रतिशत छ ।

सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकको कुल निक्षेप २ खर्ब ३१ अर्ब १८ करोड रुपैयाँ छ । जसको ७१ प्रतिशत अर्थात् १ खर्ब १६ अर्ब रुपैयाँ कासाको हिस्सा छ ।

यसैगरी, नेपाल बैंकको कुल १ खर्ब ४३ अर्ब रुपैयाँ डिपोजिटमा ६१. ५९ प्रतिशत, स्टाण्डर्ड चार्टर्ड बैंकको ८६ अर्ब १७ करोड रुपैयाँमा ५९.४९ प्रतिशत, हिमालयन बैंकको १ खर्ब ३६ अर्ब रुपैयाँमा ४५.३० प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

यसैगरी, नेपाल इन्भेष्मेन्ट बैंकको कुल डिपोजिटमा ४५ प्रतिशत, कृषि विकास बैंकको १ खर्ब ४० अर्ब रुपैयाँमा ४३.२५ प्रतिशत, नबिल बैंकको १ खर्ब ९७ अर्ब रुपैयाँमा ४१.९६ प्रतिशत र ग्लोबल आइएमई बैंकको २ खर्ब ४० अर्ब रुपैयाँमा ४१.५९ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

सो अवधिमा सानिमा बैंकको १ खर्ब ११ अर्ब रुपैयाँमा ३९.९७ प्रतिशत, नेपाल एसबीआइ बैंकको १ खर्ब ८ अर्ब रुपैयाँमा ३९.८४ प्रतिशत, सनराइज बैंकको ९७ अर्ब ९७ करोड रुपैयाँमा ३९.४५ प्रतिशत र एभरेष्ट बैंकको १ खर्ब ५६ अर्ब रुपैयाँ कुल डिपोजिटमा ३९.४४ प्रतिशत कासा डिपोजिटको हिस्सा रहेको छ ।

यसैगरी, प्रभु बैंकको १ खर्ब ५९ अर्ब रुपैयाँमा ३९.२ प्रतिशत, एनआइसी एशिया बैंकको २ खर्ब ५५ अर्ब रुपैयाँमा ३८.१९ प्रतिशत, एनएमबि बैंकको १ खर्ब ३८ अर्ब रुपैयाँमा ३८.१२ प्रतिशत, बैंक अफ काठमाण्ढूको ९२ अर्ब १३ करोड रुपैयाँमा ३७. ७४ प्रतिशत र लक्ष्मी बैंकको १ खर्ब ५ अर्ब रुपैयाँमा ३७.५३ प्रतिशत हिस्सा कासा डिपोजिटको छ ।

यस्तै, कुमारी बैकको कुल डिपोजिटमा ३७.३४ प्रतिशत, माछापुच्छे« बैंकको ३६.९५ प्रतिशत, सिद्धार्थ बैंकको ३६.६८ प्रतिशत, एनसीसी बैंकको ३६.३९ प्रतिशत, मेगा बैंकको ३३.७३ प्रतिशत र नेपाल बंगलादेश बैंकको ३३.५१ प्रतिशत कासा डिपोजिटको हिस्सा छ ।

त्यसैगरी, सिटिजन्स बैंकको २९.४० प्रतिशत, सेञ्चुरी बैंकको २७.०१ प्रतिशत, प्राइम बैंकको २५.६२ प्रतिशत र सिभिल बैंकको २४.०८ प्रतिशत कासा डिपोजिटको हिस्सा कुल डिपोजिटमा छ ।


पुष्प दुलाल