श्रीराम सुगर मिल्सले आजदेखि किसानलाई भुक्तानी दिने
काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको भुक्तानीको बक्यौता रकम आजबाट दिने भएको छ ।
उद्योगले आज एक सूचना जारी गर्दै यस उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टाँसेको जनाएको छ ।
उद्योगले उखु किसानहरूबाट खरिद गरेको उखुको बाँकी रहेको बक्यौक्ता भुक्तानी सम्बन्धमा पटकपटक सरोकारवाला निकायहरुबीच छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गरेको उद्योगको भनाइ छ । तर, समाधानको उपायहरू अबलम्बन गर्नेतर्फ उद्योग व्यवस्थापन पक्ष तयार भए पनि कानूनी व्यवधानलाई कारण देखाउँदै भुक्तानीमा ढिलाइ भएको उद्योगले जनाएको छ ।
उद्योगले स्थापनाकाल देखि नै उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई भुक्तानी गर्न नसकेको उद्योगको भनाइ छ । साथै, उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति क्षमा समेत मागेको छ ।