सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाई, अनुपात भने यथावत



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको नयाँ निर्देशिकामा कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई सेयर धितोमा कर्जा नदिने व्यवस्था गरेको छ ।

राष्ट्र बेंकले नयाँ निर्देशिका जारी गर्दै यसअघि ४ वटा मापदण्ड पुरा नगरेका कम्पनीको सेयर धितोराखेर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

नयाँ व्यवस्थामा राष्ट्र बैंकले ४ वटा व्यवस्था थप गरेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्ष देखि साधारण सभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितो राखेर कर्जा लिन नपाइने भएको छ ।

यसअघिको व्यवस्थामा राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्जले सूचीकरणबाट हटाइएका संस्थाहरु र आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको सेयरको धितोमा कर्जा दिन नपाइने व्यवस्था गरेको थियो ।

सेयरधितो राखेर दिइने कर्जाको सिमा भने यथावत राखिएको छ ।


क्लिकमान्डु