पर्यटन मन्त्रालयलाई योजना आयोगका उपाध्यक्षको निर्देशनः ४ वटा आयोजना समयमै पूरा गर्नु



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले पर्यटन मन्त्रालयलाई मन्त्रायलको प्रथमिकतामा परेको आयोजनाको काम तत्काल सक्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकसम्मको प्रगति समीक्षा बैठकमा उपाध्यक्ष कँडेलले यस्तो निर्देशन दिएका हुन् ।

उनले ५ वटा राष्ट्रिय गौरवका आयोजना पर्यटन मन्त्रालयमा रहेकोमा ४ वटा आयोजना समयमा नै पूरा गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्न निर्देशन दिए ।

उनले पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष र २ वटा विमानस्थल समयमा नै सक्नेगरी तत्काल नीति बनाउन आग्रह समेत गरे ।

‘भैरहवास्थित सिद्धार्थ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सामग्रीको कारण समस्या भयो भनिएको छ, नेपाल आयाल निगमको कारण ढिला भयो भनिएको छ,’ उनले भने, ‘यसमा भएको के हो, त्यो समस्या चाँडो समाधान गर्नुपर्यो ।’

उनले लोकबाजा संग्राहालयको समस्या समयमा नै समाधान गर्न आग्रह गरेका छन् । यस विषयमा महानगरपालिकासँग पनि समन्वय भएको कँडेलले जानकारी गराए ।

अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले त्रिुभवन विमानस्थलको स्तरोन्नतीमा ध्यान दिन आग्रह गरे ।

उनले निगजढ विमानस्थलमा रुख कटान र सुकुम्बासी बस्तीको विषयमा छलफल मात्रै भन्दा पनि निर्णयमा पुग्ने गरी काम गर्न आग्रह गरे ।

निजगढलाई राष्ट्रिय गौरवको आयोजना भन्ने र काम केही नभएको भन्दै यसलाई कुन मोडलमा जाने भन्ने निर्णय निकाल्न सुझाव दिएका छन् ।

कोरोनाबाट पर्यटन क्षेत्र कोरोनाको असर देखिएको भन्दै सहुलियतपुर्ण कर्जा, रि फाइनान्सको व्यवस्था पर्यटन व्यवसायीले पाएकी पाएनन् त्यो विषयमा मन्त्रालयले छलफल गर्न आग्रह गरे । उनले मन्त्रालयसँग सम्बन्धित समस्या समाधान गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले पोखरा विमानस्थल र भैरहवाको विमानस्थलको प्रगति अपेक्षा अनुसार नभएको बताए ।

उनले यी दुबै विमानस्थलको काम अझै प्रभावकारीरुपमा गर्न जरुरी रहेको बताए । मन्त्रालयले पहिलो चौमासिकमा गर्नुपर्ने कागजी काम पनि गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।

‘कोरोनाको कारण मात्रै भनेर नबसौं, राष्ट्रिय गौरवका आयोजनाको समय हुन्छ, बजेट हुन्छ, अझै कति समय कुर्नुपर्ने हो ? प्रश्न गर्दै उनले भने, ‘अब देखिने गरी काम गारौ, वर्षौसम्म एउटै आयोजनालाई गौरवको आयोजना भनेर बस्न सकिँदैन ।’

पर्यटन मन्त्रालयका सह–सचिव कमलप्रसाद भट्टराईले निजगढ विमानस्थलको समस्या अघिल्लो वर्षदेखि भएको जानकारी गराए । उनले प्रदेश सरकारसँग समन्वय गर्ने विषय मन्त्रिपरिषदबाटै निर्देशन दिनुपर्ने जानकारी गराए ।

पर्यटन साझेदारी कार्यक्रममा ४५५ आयोजनाका लागि ७ अर्ब रुपैयाँ चाहिनेमा २ सय आयोजनालाई बजेट दिन सके प्रभावकारी हुने बताए ।

पर्यटन क्षेत्रमा राहतको लागि गुनासा आएको र त्यसमा छलफल आवश्यक रहेको उल्लेख गरे । उनले यसका लागि राष्ट्र बैंकले निर्देशिका बनाएको स्मरण गराए ।


क्लिकमान्डु