सामाजिक सुरक्षा कोषले घर किन्न ७५ लाख र पढ्न ३५ लाख सापटी दिने



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रलाई समेटेर योगदानकर्ताहरुका लागि सापटी सुविधाहरु अघि सारेको छ ।

करिब दुई बितिसक्दा पनि रोजगारदाता र श्रमिकहरू आकर्षित हुन नसकेपछि कोषले कार्यविधि संशोधन गरी उक्त सापटी सुविधा अघि सारेको हो ।

साथै, कर्जा र लगानीका क्षेत्रहरूमध्ये श्रमिककको समाजिक सुरक्षालाई मध्यनजर गर्दै योगदानकर्ता सापटी ल्याएको कोषले जनाएको छ ।

योगदानकर्ता सापटी अन्तर्गत योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार योगदानकर्ता विशेष सापटी, धितोमा आधारित घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य गरी चार शीर्षकमा सापटी लिन सक्ने कोषले जनाएको छ ।

जसमा योगदानकर्ता विशेष सापटी योगदानकर्ताको योगदान रकमका आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

कोषले घर सापटी सुविधाअन्तर्गत योगदानकर्तालाई ७५ लाख अथवा १५ वर्षको तलव र रकम बराबर सापटी दिने व्यवस्था गरिएको छ । योगदानकर्ताले धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न उक्त रकम पाउनेछन् ।

त्यसैगरी कोषले संशोधन गरेको कार्यविधि अनुसार योगदानकर्ताले स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि ३५ लाखसम्म सापटी लिन पाउने व्यवस्था गरिएको छ । धितोमा आधारित रहेर योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीका लागि लागि स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययनका लागि सो सापटी लिन सक्नेछन् ।

उक्त कार्यविधि अनुसार सामाजिक कार्य सापटी शीर्षक अन्तर्गत योगदानकर्ताहरुलाई ५ लाखसम्म सापटी दिने व्यवस्था गरेको छ । तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागू हुनेछ ।

साथै, योगदानकर्ता विशेष सापटी बाहेक अन्य सबै सापटीको कूल योगदान रकम १ करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले खामेसम्म तोकेको छ । साथै, कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्नेछ । सापटकिा निम्ति कोषमा कम्तिमा ३ वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले समेटेको छ ।

त्यसैगरी, कोषले परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह–वित्तियकरण कर्जाको व्यवस्था गरेको छ । साथै अन्य क्षेत्रहरूमा सहकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गर्ने सक्नेछन् ।

यस व्यवस्थाबाट कोषमा सञ्चालित रकमलाई लगानी विविधीकरणलाई माध्यमबाट विभिन्न क्षेत्रमा लगानी गरी लाभ लिन सक्ने कोषको भनाइ छ ।


क्लिकमान्डु