शेखरप्रति चन्द्र ढकालको असन्तुष्टि, किशोरलाई भने- एजेन्डा नै छैन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालले भावी अध्यक्ष शेखर गोल्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘हाम्रा भावी अध्यक्ष शेखरजीले हामी दुबै उम्मेदवारलाई बराबरीरुपमा नैतिक समर्थन दिएको भए हुन्थ्यो भन्ने चाहना थियो,’ उनले भने, ‘कतिपय साथीहरुले निर्वाचनलाई जीवन र मरणका रुपमा लिनु भयो, हामी निर्वाचनपछि पनि सँगै हुन्छौं भन्न चाहन्छु ।’

शुक्रबार महासंघ कार्यालयमै आयोजित कार्यक्रममा बोल्दै ढकालले वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानलाई इंकित गर्दै कुनै एजेन्डा नभएको टिप्पणी गरे ।

‘शेखरजीले आफ्नो एजेन्डा बनाउने हो, वरिष्ठ उपाध्यक्षले आफ्नो एजेन्डा बनाउनु पर्छ, आफ्नो एजेन्डा हुनु जरुरी छ,’ उनले भने ।

‘किशोर दाई र म दुबै जना उम्मेदवार छौं, निजी क्षेत्रको प्रतिनिधित्व गर्न गइरहेका छौं, यस्तो अवस्थामा आफ्नो एजेन्डा हुनुपर्छ, शेखरजीको एजेन्डा बोकेर हुँदैन,’ उनले भने ।

कार्यक्रममा बोल्दै अर्को प्रत्यासी किशोर प्रधानले आफू जेठो पनि भएकाले आफ्नो शुरुमा पालो आउनु पर्ने तर्कमा पनि ढकालले तिखो टिप्पणी गरे । ढकालले महासंघको निर्वाचनमा सिनियर हुँदैमा नेतृत्व दिनुपर्छ भन्नेमा मैले विश्वास नगर्ने बताए ।

उनले निर्वाचनमा भइरहेको अस्वस्थ प्रतिष्पर्धामा समेत असन्तुष्टि व्यक्त गरे ।
‘महासंघमा हुने निर्वाचनले व्यवसायिक सफलता र असफलतासँग नजोडिने भन्दै उनले निर्वाचनमा नैतिक सीमालाई नभत्काएको भए राम्रो हुन्थ्यो,’ उनले भने ।

उनले आफूले बनाएको टीम सन्तुलित भएको बताए । भौगोलिक र व्यवसायिकरुपमा पनि निकै सन्तुलित टीम भएको उनले तर्क गरे । उनले प्यानलमा भएका चार जनाको टीममा ठूला करदाता समेत भएको बताए । साथै सरकारले गर्ने सीपाइपी सम्मानबाट समेत सम्मानित भएको बताए ।


क्लिकमान्डु