कोरोनाको भ्याक्सिन भारतमा उपलब्ध भए नेपालले पनि पाउँछः भारतीय विदेश सचिव श्रृंगला



काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दावी गरे । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उनले बताए ।

‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आमरुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकुल अवस्थामा पनि यो विग्रिएको छैन् । कोरोना महामारीमा पनि हामीले छोडेनाैं,’ उनले भने ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनको भनाइ छ ।

सचिव श्रृङ्गलाले बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका थिए ।

विदेशसचिव श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन् ।


क्लिकमान्डु