महासंघको चुनावमा फलानालाई भोट नहाले ठीक हुँदैन भन्दै पूर्वमन्त्रीले धम्क्याए: ज्ञानेन्द्रलाल प्रधान



ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान कोषाध्यक्ष हुन् । महासंघमा भएको अनियमितता बाहिर ल्याएका प्रधानले २०७५ माघ १३ गते कोषाध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी नेपाल उद्योग परिसंघमा सक्रिय छन् । महासंघको सक्रिय राजनीतिबाट बाहिरिए पनि प्रधान महासंघको एसोसियटतर्फका मतदाताभने हुन् । आफूसँग अहिले ६२ भोट भएको उनको दावी छ । यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा महासंघको ५४औं साधारणसभा हुँदैछ । साधारणसभाले विधानअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्षमा निर्वाचित गर्दैछ । अब वरिष्ठ उपाध्यक्ष बन्नका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् । यस्तो अवस्थामा प्रधानले कसलाई भोट हाल्लान् ? यो निकै महत्वपूर्ण छ । किनभने एसोसियटतर्फको ९२३ मध्ये ६२ भोट उनीसँग छ । प्रधानसँग भएको यो भोट उम्मेद्वारको जितहारका लागि निर्णायक बन्नसक्छ। महासंघको चुनाव नजिकिँदै गर्दा क्लिकमाण्डूले प्रधानसँग गरेको कुराकानी जस्ताको त्यस्तैः

भित्र बस्दा केही पनि नदेखिने रहेछ । बाहिर बस्दा धेरै देखिने रहेछ । अनि रमइलो पनि हुने रहेछ । अहिले मैले यो अनुभव गरिरहेको छु ।

नेपाल उद्योग वाणिज्य महासंघमा कसले जित्छ ? र, कसले हार्छ ? मलाई चासोको विषय भएन । मेरो चासोको विषय भनेको मसँग भएको भोट कसलाई दिने भन्ने हो । जो साथीहरुलाई मैले महासंघमा उठाएको आवाज मन पर्यो उहाँहरुले मलाई ३०/३२ वटा भोट ल्याएर दिनुभएको छ । मेरो र मलाई विश्वास गरेर प्रोक्सी दिने साथीहरुको गरेर अहिले मसँग ६२ भोट छ । यसमा थप १०/१५ मत बढाउन सकिन्छ ।

दुबै गुट ठीक छैनन्

मसँग बल्क ६२ भोट भएकाले सबैले मलाई फकाउन खोज्नु स्वाभाविक पनि हो । मलाई आफ्नो बनाउन अहिले दुबै पक्षले माथिदेखि तलसम्म सोर्सफोर्स लगाइरहेका छन् । मैले उहाँहरुलाई भनेको छु, तपाईंहरु दुबैको गुट ठीक छैन, म कसैको गुटमा पनि आउँदिन ।

जो मान्छे महासंघभित्र रहेर सत्यको पक्षमा बोल्छ मैले उसलाई सहयोग गर्ने हो । मैले महासंघभित्र भएको त्यत्रो भ्रष्टाचारको विषय बाहिर निकालेँ । खै त्यो बारे कसले बोल्यो ?

गुटबन्दीले बिगार्यो

मान्छेहरु उद्योग वाणिज्य महासंघको अवस्था देखेर इरिटेड भएका छन् । एजेण्डामा कुरा नगर्ने, गुटबन्दी गर्ने, कहिले राम श्यामसँग, कहिले श्याम हरीसँग, कहिले सीता रावणसँग, कहिले रावण सीतासँग, कहाँबाट हुन्छ यसरी ?

ज्ञानेन्द्रलाल प्रधानले उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट राजिनामा दिए

महासंघका पदाधिकारीहरु पनि कस्तो भए भने छिमेकीको घरमा आगो लाग्दा म सुरक्षित छु भन्दै बस्न थाले । मेरो भनाइ के हो भने छिमेकीको घरमा आगो लाग्दा तिम्रो हाम्रो घरमा पनि त्यो आगो आइपुग्छ । त्यसैले समयमै सबैले आगो निभाउन लाग्नुपर्छ भन्ने हो ।

हाम्रो समाज पूर्णरुपमा बिग्रिइसकेको छ । आफ्नो फाइदाका लागि हामी जे पनि गर्न तयार हुने भइसक्यौं ।

व्यक्तिगत फाइदा हेरिँन

मैले मेरो व्यक्तिगत फाइदाका लागि सोचेको भए महासंघमा भएको भ्रष्टाचारको कुरा उठाउने नै थिइँन । वरिष्ठ उपाध्यक्षको लाइनमा थिएँ । वरिष्ठपछि स्वत अध्यक्ष बन्थेँ । तर मैले त्यो हेरिँन । भ्रष्टाचार र चरम विकृतिलाई टुलुहुटुलुहु हेरेर बस्न सकिँन । किनभने म विकृति स्वीकार गर्न सक्दिन । त्यसैले राजीनामा दिएर महासंघबाट बाहिरिएँ ।

अनियमितता हुँला चुँसम्म नगर्ने उम्मेद्वार छन्

अध्यक्ष र केही पूर्वअध्यक्षले महासंघको कोषलाई दुरुपयोग गरेको प्रमाण अहिले पनि मसँग छ । भौचरमा एउटा लेखेको छ, रकम अर्कै व्यक्तिको खातामा जम्मा भएको छ । यो पनि कुनै तरिका हो ? यस्ता वृकितीको बारेमा आवाज उठाएन भने महासंघ झनै बिग्रिन्छ भनेर मैले आवाज उठाउने हिम्मत गरेको हुँ ।

ज्ञानेन्द्रलाल प्रधानको गोप्य अडियो भवानी राणालाई बुझाउने पत्रकार को हो ?

भ्रष्टाचार र अनियमितताको बारेमा चुँसम्म बोल्न नसक्ने महासंघका नेताहरु अहिले उम्मेद्वार छन् । मन्त्री, पूर्वमन्त्री लगाएर मसँग भोट मागिरहेका छन् । एकजना पूर्वमन्त्रीले त मलाई ‘फलानो-फलानो उम्मेद्वार हारे भने त ठीक हुनेवाला छैन’ भन्दै धम्क्याउनु भयो ।

बहालवाला मन्त्रीले धम्क्याउँदा त नटेर्ने मान्छे म पूर्वमन्त्रीले थर्काउँदा के टेर्थेँ होला र ?

अचम्म लाग्छ !

बहालवाला मन्त्री र केही पूर्वसचिवले पनि महासंघका उम्मेद्वारका लागि भोट माग्नुभयो । जावो एउटा उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा पुग्न मान्छेहरुले दिलोज्यान दिएको देख्दा अचम्म लाग्छ !

म पनि चुनाव लडेको मान्छे हुँ । लोकप्रिय मत ल्याएर निर्वाचित भएको मान्छे हुँ । मैले त कहिल्यै यति साह्रो लबिङ गरेको थिइँन । मन्त्री र पूर्वमन्त्रीकहाँ भोटका लागि फलानोलाई भन्दिनु पर्यो भन्दै कहिल्यै धाइँन । म त बल्ल पो बुझ्दैछु चुनाव के हो भनेर ।

म फेरि पनि भन्न चाहन्छु महासंघको चुनावमा गल्तीको विरुद्ध बोल्ने हिम्मत राख्ने मान्छेलाई मेरो भोट जान्छ । शेखर गोल्छा र पशुपति मुरारकाजी मेरा बेस्ट फ्रेन्ड हुन् । तर मलाई प्यानलसँग मतलब छैन । व्यक्तिसँग मतलब छ ।

विकृति संस्थामा होइन, व्यक्तिमा छ

गएको १२/१३ वर्षदेखि मैले महासंघलाई नजिकबाट नियालेँ । तर वितेका ३ वर्षको जस्तो विकृति कहिल्यै पनि भएको थिएन । विकृति संस्थामा होइन, नेतृत्व गर्ने व्यक्तिमा आएको हो ।

सरकारी पैसामा व्यवसायीको रजाईं, नैतिक संकटमा उद्योग वाणिज्य महासंघको नेतृत्व

महासंघको विकृतिको जड के हो भने- सम्पूर्ण वुद्धिमानी र पैसावाला व्यवसायीहरु पनि आफ्नो फाइदाका लागि चुप लागेर बस्नू । यो गलत हो । विकृतिका बारेमा कुरा उठाएर म आफैं बाहिरिएको हो । मलाई महासंघबाट कसैले जा भनेको होइन ।

म बाहिरिनाले चन्द्र ढकाललाई फाइदा भयो

पोहोरसाल मैले चन्द्र ढकालजीलाई अर्कोपटक म वरिष्ठमा उठ्ने लिखित सहमति गरेपछि एसोसियट उपाध्यक्ष छाडेको थिएँ । अहिले म महासंघमा भइरहेको भए उहाँले मलाई सहयोग गर्नुपर्थ्यो ।

तर, म बाहिरिनाले चन्द्रजीलाई फाइदा भयो ।

मसँग दुबै पक्ष विश्वस्त छन्

मैले आजका दिनसम्म पनि तपाईंलाई भोट दिन्छु, तपाईंलाई दिन्न भनेको छैन । मसँग अहिले दुबै पक्ष विश्वस्त छन् । जस कारणले गर्दा पनि खुलस्त बोलेको छैन । महासंघ बिग्रेकै पक्ष र विपक्षले हो । आफ्नो पक्षको कालोलाई पनि सेतो देख्नुपर्ने । म त कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्छु ।

मैले भोट दिइसकेपछि मसँग भएको ६२ भोट कहाँ गयो भन्ने त सबैलाई थाहा हुन्छ नि ।

जिल्लाको धेरै भोट पैसामा बिक्छ

महासंघको मतभारको संरचनात्मक समस्याले नेतृत्वलाई भ्रष्ट बनाएको हो । १ सय ६/७ मत रहेको जिल्ला नगरतर्फको धेरै भोट पैसामा बिक्छ । समग्रमा जसको मतभार ५० प्रतिशत हुन्छ । वस्तुगतमा अलिअलि भोट बिक्री हुन्छ । एसोसियटको एउटा पनि भोट बिक्दैन ।

तर, समग्रमा एसोसियटको मतभार जम्मा २० प्रतिशत मात्रै हुन्छ । एसोसियटको ९२३ भोटको मतभार जम्मा ३० प्रतिशत मात्रै हुनु न्यायसंगत छैन ।


पुष्प दुलाल