सानिमा बैंकको १६ औं साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । सानिमा बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
आर्थिक वर्ष २०७६-७७ मा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको कुल सम्पत्ति १ खर्ब २६ अर्ब ३१ करोड, कुल निक्षेप १ खर्ब १० अर्ब १० करोड तथा खुद कर्जा सापटी ९३ अर्ब ६९ करोड रहेको छ । आर्थिक वर्ष २०७५-७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले बढेको छ ।
बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
विश्वभर फैलिएको कोभिड-१९ महामारीको कारण सरकारले तोकेको सीमा भित्र सेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी सेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको थियो ।