यी हुन् औद्योगिक ग्राम घोषणा भएका १२ वटा स्थान



काठमाडौं । सरकारले मुलुकका विभिन्न १२ वटा स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नम्बर १ का ३ वटा स्थानलाई औद्योगिक ग्राम घोषणा गरिएको छ । जसमा उदयरपुर रौतामाई गाउँपालिका वडा नम्बर ५ को जम्मा ६३ रोपनी २ आना १ पैसा सरकारी जग्गा, तेह्रथुपको म्याङलुङ गाउँपालिकाको वडा नम्बर १ र १० ओख्रेटोलमा रहेको ६४ रोपनी ४ आना १२ पैसा २ दाम सरकारी जग्गा र उदयपुर जिल्लाकै बेलका नगरपालिका वडा नम्बर ५ मा रहेको ८ विगाहा सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिनेछ ।

त्यसैगरी बाग्मती प्रदेशमा नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० को शुभघाट एरियाको कित्ता १८७ रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिनेछ ।

त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत ५ वटा स्थानलाई औद्योगिक ग्रामका रुपमा विकास गरिनेछ । जसमा स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित ९३–८–०–३रोपनी सरकारी जग्गा, तनहुँको भानु नगरपालिका वडा नम्बर ३ मा रहेको ४७ रोपनी सरकारी जग्गा, नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर २ को १०० रोपनी सरकारी जग्गा, मनाङको चामे गाउँपालिका वडा नम्बर ४ को १०० रोपनी सरकारी जग्गा र पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ स्थित ३८४ रोपनी ८ आना २ पैसा जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ४ को तिमिलेखापामा पर्ने ४८ रोपनी सरकारी जग्गा, सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर ११ मा पर्ने रोपनी २० बिगाह जग्गा र सुर्खेत जिल्लाकै चौकुने गाउँपालिका वडा नम्बर ५ मा पर्ने करिब १० बिगाह जग्गामा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु