तिहार, छठ तथा नेपाल संवतमा टेलिकमको एसएमएस अफर



काठमाडौं । नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याक उपलब्ध गराइरहेको छ ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध छन् ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस प्याक पठाउन सकिने छ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ ।

२० वटा एसएमएसका लागि एसएमएस २० , ७० वटा एसएमएसका लागि एसएमएस ७० र ३०० वटा एसएमएसका लागि एसएमएस ३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी *1415*1*5# डायल गरेर वा एनटी एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत*1415*2# डायल गर्न सकिन्छ ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ । सीयूजी प्याक अन्तर्गत २००, ५००, १००० र १ हजार ५ सय दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ । सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।


क्लिकमान्डु