कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्ध सच्याउनु पर्छ: अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका  छन् ।

कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवस्यकता रहेको अर्थमन्त्री पौडेलले बताए ।

शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले कतिपय कानूनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताए ।

यस्तै वर्तमान अवस्थमा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए ।

उनले भने, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ । त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन वा अरुचिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समिक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं र पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’

राजश्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतिपूर्ण रहेको अर्थमन्त्री पौडेलले बताए ।

बन्दाबन्दिका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजश्व संकलनमा चुनौति थपिएको बताए ।

तर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजश्व संकलनको स्थिति अनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको पौडेलले बताए ।

उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा के देख्छौं भने राजश्व परिचालनको पाटो हाम्रा निम्ती अलिकति चुनौतिपूर्ण बनेर देखा परेको छ । बीचमा बन्दाबन्दीको अवस्थापनि रहयो । आर्थिक क्रियाकलापमा काफिमात्रामा संकुचनको अवस्था देखा पर्यो । त्यसको प्रभाव उत्पादनमा, बजारमा र रेभिन्युमा पनि परेको कुरा सत्य हो ।’

‘अहिले पहिलो त्रैमासिकको अवस्थालाई विश्लेषण गर्दाखेरी हामी राजश्वको जुन लक्ष्य हो त्यसको नजिक नजिक नै पुगेका छौं । केही तल छौं तर हामी नजिक पुगेका छौं,’ उनले थपे ।

बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवद्र्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा र मनस्थितिमा छौं । त्यस हिसाबले हेर्दा हामी आर्थिक वर्षको अन्त्यसम्म पुग्दा सम्भवतः राजश्वको लक्ष्य पूरा गरौंला या धेरै नजिक पुगौंला भन्ने पूर्वानुमानमा भएको उनले बताए ।

यस्तै सरकार र राज्यका विभिन्न किायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताए ।

सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतको विषयमा आफु रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उनले स्पष्ट पारे ।


क्लिकमान्डु