फरक फरक मातृभाषा बोल्नेलाई टेलिकमको यस्तो सेवा



काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित सेवा सुरुगरेको छ ।

विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पु¥याउने उद्देश्यले तिनै स्थानीय भाषामा सेवा दिइरहेको छ ।

यसको लागि टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् ।

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् ।

यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम-सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


क्लिकमान्डु