एटिएम बुथ खाली राखेर काउण्टरमा भिड बढाउँदै बैंकहरु



इटहरि । दशैंको माहोल देशभर शुरु भइसकेको छ । जसका कारण इटहरिमा सञ्चालनमा रहेका बैंकमा पनि पैसा निकाल्नेहरुको भिड बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम मोलेर नै भएपनि मानिसहरु बाहिर निस्किएका बैंकका ग्राहकलाई भने बैंकले लापरवाही गर्दै अझ बढी संक्रमणको जोखिममा धकेलिरहेको छ ।

ग्राहकले बैंकमा नै पुगेर साट्न खोजेका सानो रकम एटीएमबाटै सहजै निकाल्न सकिन्छ । तर बैंकहरुको एटीएम बुथमा पैसा मौज्दात नहुँदा साना परिमाणका चेक लिएर ग्राहक बैंक नै पुग्नु पर्ने बाध्यता सिर्जना अहिले भएको छ ।

राष्ट्र बैंकले नगद झिक्ने ग्राहककै कारणले बैंकको काउण्टरमा भिड बढी कोरोनाको जोखिम बढ्ने हुँदा अन्तर बैंक एटिएम कारोबारलाई निशुल्क गर्न व्यवस्था गरको छ । अन्तर बैंक कारोबारमा शुल्क नलाग्ने भएपछि केही बैंकहरुले आफ्नो एटिएममा पैसा नै राख्न छाडेको एक बैंकका सीइओले बताए ।

‘जुन एटिएमबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने भएपछि आजभोलि अधिकांश बैंकहरुले आफ्नो एटिएममा नियमित पैसा नै भर्न छोडिसके,’ ती सीइओले क्लिकमाण्डूसँग भने, ‘एटिएममा पैसा राख्दा अतिरिक्त कर्मचारी र समय खर्च हुने साथै शुरु भएका एटिएममा समस्या आउँदा तत्काल मर्मत गर्न जानुपर्ने भएकाले पनि बैंकहरुले बुथ खाली राख्न थालेका हुन् ।’

बुथ जुन समयमा खाली भएपनि प्रायजसो बैंकले हप्तामा १/२ पटकमात्र पैसा भर्ने गरेका उनको भनाइ छ ।

दशै खर्चका लागि ग्राहक बैंकको काउण्टर नै पुग्नुपर्दा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने हुँदा बैंकहरुलाई एटीएम खाली नराख्न सुझाव दिइएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘बैंकहरूले डिजिटल बैंकिङमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएका छन् तर त्यसकोे पहुँच सबै ग्राहकमा नहुँदा काउण्टर नै पुग्नुपर्ने बाध्यता हुनसक्छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने, ‘तर संघको तर्फबाट सबै बैंकका साथीहरुलाई ग्राहकलाई काउण्टरमा भिड कम गर्न एटिएम खाली नराख्न सुझाव दिएका छौँ ।’

दशै शुरु भएसँगै प्रायः बैंकहरु यस्तो प्रकारका सुझाव पटक पटक दिएरहेका छौँ, यदी कुनै बैंकको एटिएमा त्यस्तो समस्या भएमा तुरुन्तै बैंकमा गुनासो गर्दा समस्याको समाधान हुने उनले बताए ।

बैंकको एटिएम बुथमा मौज्दात रकम नहुँदा ग्राहकको भिड बढी कर्मचारीमा समेत अहिले संक्रमण बढ्दो छ ।

 


क्लिकमान्डु