व्यापारीको भाषा बोल्दै वाणिज्य मन्त्री लेखराज भट्टले भने: बजारमा मूल्यबृद्धि भएको छैन



काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताए । उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गरे । तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए ।

‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहिंपनि समस्या आएको छैन् । केही वस्तुमा विश्वमै मूल्य बढेपछी बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगाई भन्ने छैन । अव एकाध वस्तुमा हुने स्वभाविक हो । हिजोपनि हुन्थ्यो ।’ उनले भने ।

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको भन्दै उनले निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए ।

आफुले मन्त्रालय सम्हालेदेखि व्यवसाय मैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गरे । कर र राजस्वका विभिन्न विषयमा सुधार गरि उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए ।


क्लिकमान्डु