ब्रोइलर कुखुराको मूल्य घट्यो



काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैं नजिकिँदै गर्दा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । लकडाउनको समयमा आकासिएको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको समयमा घटेको थियो ।

उक्त समयमा कुखुराको मूल्य २२० देखि २५० रुपैयाँसम्म भएको थियो । त्यसैगरी, सरकारले निषेधाज्ञा खुकुलो गर्ने वित्तिकै सबै होटल, रेष्टुरेन्ट खुलेसँगै मासुको मूल्य बढेर ३२० देखि ३५० रुपैयाँसम्म पुगेको थियो ।

तर, अहिले दशैं नजिकिँदै गर्दा कुखुराको मूल्यमा पुनः गिरावट आएको छ । लामो समयको बन्दाबन्दीमा कुखुरा पालन व्यवसायीहरूले धेरै कुखुरा उत्पादन गरेको हुनाले अहिले बजारमा मासुको मूल्य घटेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए । उत्पादन बढी र खपत कम भएका कारण बजारमा कुखुराको मूल्यमा सस्तिएको पोखरेल बताउँछन् ।

हाल बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी २२० देखि २४० सम्म बिक्री भइरहेको छ । त्यस्तै जिउँदो कुखुराको प्रतिकेजी १८० मा बिक्री भइरहेको छ ।

उनका अनुसार लामो समयको बन्दाबन्दीले बजारमा चहलपहल भएता पनि विगतको तुलनामा निकै कम कुखुराको मासुको खपत भएको बताए । हाल सबैभन्दी बढी खपत हुने क्षेत्र होटल, रेष्टुरेन्टलगायत अन्य व्यवसाय पूर्ण रूपमा चल्न नसक्दा मासुको खपत कम भएको उनको भनाइ छ ।

सामान्य अवस्थाका देशभर करिब ८ लाख केजीको हाराहारीमा मासु खपत हुन्थ्यो भने अहिले करिब ४ लाख केजी मात्रै खपत भइरहेको उनको भनाइ छ ।

उनका अनुसार लकडाउन र निषेधाज्ञाको समयमा किसानहरूले बढी उत्पादन गरेर हाल किसानहरूसँग करिब ९ लाखको हाराहारीमा कुखुरा रहेको उनले बताए ।

त्यसैगरी, उत्पादन बढी खपत कम भएपछि मूल्य घट्नु स्वाभाविक रहेको उनको भनाइ छ । तर, अहिले दशैं नजिकिँदै गर्दा बजारमा मूल्य गिरावट आएता पनि दशैंको माहोलमा घट्ने वा बढ्ने भन्नेमा अहिले नै अनुमान गर्न नसक्ने उनले बताए ।


पुष्प दुलाल