किन प्रभावित भयो तनहुँ जलविदुत आयोजनाको काम ?



तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।

१४० मेगावाट क्षमताको आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोका मजदुर आन्दोलनमा उत्रिएपछि विद्युतगृह निर्माणको काम प्रभावित भएको हो ।

कोरोना परीक्षणका लागि पिसिआर गर्नुपर्ने माग सहित मजदुर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिए ।

आयोजनाका एक मजदुरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै मजदुर र परिवारको पिसिआर परीक्षण गर्न माग गर्दै मजदुर आन्दोलित भएका छन् ।

‘ विद्युतगृह निर्माणको काम चलिरहेको बेला एक्कासी मजदुर आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ ’ घिमिरेले भने ‘ काम नियमित गराउनका लागि पहल गरिरहेका छौ ।’

शुक्रबार दिउँसोदेखि आन्दोलित मजदुर साँझ क्याम्पमा फर्किएका छन् भने शनिबार पुनः छलफलको तयारी गरिएको छ । आयोजना प्रमुख घिमिरेका अनुसार शनिबार यस क्षेत्रका जनप्रतिनिधि, निर्माण कम्पनी, मजदुरलाई राखेर मागका विषयमा सहमति गराउने प्रयास गरिनेछ ।

‘नजिकको सम्पर्कमा रहेकाहरुको पिसीआर परीक्षण गर्न सकिने भएपनि सबै मजदुर र परिवारको पिसीआर परीक्षण सम्भव नरहेको स्वास्थ्य कार्यालयबाट जानकारी पाएका छौ’ उनले भने । ‘तैपनि के गर्न सकिन्छ छलफल गरेर विवाद टुङ्गाई काम सुचारु गर्न पहल गरिरहेका छौ ।’

आयोजनाको प्याकेज दुई अन्तर्गत सिनो हाइड्रोले विद्युतगृहको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि शुरु भएको घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्तर्गत १४० अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने छ ।आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर रहेको छ ।


पुष्प दुलाल