म्याग्दीको घारखोला जलविदुत् आयोजनाको काम ६५ प्रतिशत सकियो



काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युतगृह पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ ।

सन् २०१८ जनवरीदेखि शुरु भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए ।

आयोजना अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ । जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

डिसेन्डरदेखि सुरुङसम्म ३८।३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ । ३ हजार ५ मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार १७५ मिटर सुरुङ खनिएको छ ।

बाँधतर्फबाट १ हजार २१८ र किराथाप्ने स्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो ।

नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन माटो खन्ने काम भैरहेको छ ।

आउटलेटदेखि विदुतगृह ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ । कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ । दशै लगत्तै पाइप जोड्न शुरु गर्ने इञ्जिनीयर बज्राचार्यले बताए ।

घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन् ।

सिभिल ठेकेदारका १४४ जना मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो ।

लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो । भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेशनसम्म ७.५ किलोमिटर प्रशारणलाइन निर्माण गर्नेभएको छ ।

यो आयोजनाको अनुमानित कूल लागत २ अर्ब ४१ करोड ५८ लाख २५ हजार हो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ् ।

५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ ।

जम्मा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माण पनि धमाधम भैरहेको छ ।

त्यस्तै १० मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेशी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ ।

कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने प्रशारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।


पुष्प दुलाल